९ लाखभन्दा बढी संस्था आर्थिक क्रियाकलापमा संलग्न


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । मुलुकभर ९ लाखभन्दा बढी संस्था प्रत्यक्ष रूपमा आर्थिक क्रियाकलापमा संलग्न भएको प्राम्भिक तथ्यांक आएको छ । केन्द्रीय तथ्यांक विभाग वैशाखदेखि शुरू गरेको आर्थिक गणनाका क्रममा सो तथ्यांक आएको हो ।
विभागले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणना गरेको थियो ।

उक्त गण्नामा १५ लाख तथ्यांक प्राप्त हुने अनुमान गरिएको थियो । विभागका निर्देशक प्रमोदराज रेग्मीका अनुसार सो तथ्यांकमा सामान्य लगानीकर्तादेखि अर्बाैं रुपैयाँ लगानी गर्नेसम्मका समेटिएका छन् । आर्थिक गणनाबाट मुलुकभर आर्थिक क्रियाकलापमा संलग्न सरकारी तथा निजी संस्थाको बारेमा जानकारी आउनुका साथै रोजगारीको अवस्था तथा आर्थिक क्षेत्रमा भइरहेको उपलब्धिलगायतका बारेमा जानकारी प्राप्त गर्न सहज हुने रेग्मीले बताए ।

आर्थिक गणनाका लागि ३३ वटा जिल्लामा कार्यालय स्थापना गरी गणना गरिएको थियो । गणनाका लागि करिब ४ हजार कर्मचारी खटिएको र अनलाइन प्रविधिसमेत अपनाइएको विभागले जनाएकोे छ । रेग्मीका अनुसार ३ सयवटा नगरपालिकामा अनलाइनमार्फत् तथ्यांक संकलन गरिएको थियो ।

आर्थिक गणनाबाट देशको अर्थतन्त्र, औद्योगिक कलकारखाना, रोजगारीको अवसरका बारेमा जानकारी हुने विभागको भनाइ छ । विभागमा प्राप्त तथ्यांक विश्लेषण गरी पूर्णता दिन भने फागुनसम्म लाग्ने विभागको अनुमान छ । अहिले तथ्यांक संकलनमा गरिएको छ । यसको पूर्ण रिपोर्ट आउन फागुनसम्म पर्खिनुपर्ने आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले आर्थिकन्युजलाई बताए । उनले भने–‘तथ्यांक संकलन गरी डाटा इन्ट्री र विश्लेषणलगायतको काम भइरहेछ ।’

विभागका अनुसार आर्थिक गणना गरेपछि औद्योगिक गणनाको आवश्यकता पर्ने छैन । प्रत्येक पाँच वर्षमा गरिँदै आएको औद्योगिक गणना अब आर्थिक गणनासँगै आवश्यक नरहेको विभागको भनाइ छ । पछिल्लोपटक आर्थिक वर्ष २०६९/७० औद्योगिक गण्नामा १० भन्दा बढी कामदार भएको उद्योगको संख्या ४ हजार ७६ वटा रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया