बीमा विधेयकमा ५ अर्बको पुँजी कोषको व्यवस्था गर्न लबिङ गर्दै समिति


आर्थिकन्यूज

काठमाडौं, साउन २३ । बीमा समितिले आफ्नै पुँजी कोष बनाउने तयारीका साथ हाल संघीय संसद्मा पेश भएको बीमा विधेयकमा थप बुँदा समावेश गर्ने तयारी गरेको छ । समितिले आफ्नै पुँजीकोष बनाएर समितिलाई बलियो बनाउने तयारीका साथ हाल संसद्मा विचाराधीन रहेको बीमा विधेयकमा यस्तो व्यवस्था गर्न लागेको हो ।

बीमा समितिले संशोधनको अवस्थामा रहेको बीमा ऐनमा पाँच अर्बको पुँजी कोष राख्ने व्यवस्था गर्न सांसद्हरूसँग लबिङ शुरू गरेको छ । संसद्ले सो विधेयक केही दिनमा अर्थ समितिमा छलफलका लागि जाँदैछ ।  हाल बीमा समितिसँग चार अर्ब रुपैयाँ जगेडा पुँजी छ । सो रकम अर्थ मन्त्रालयले तान्ने तयारी अघि बढाएपछि समितिले रकमको व्यवस्थापनका लागि पुँजी कोष स्थापनाको प्रयास गरेको हो ।

गत आर्थिक वर्षमा समितिले गरेको खर्चमा ५० प्रतिशत रकम थपेर समितिमा अन्य बाँकी हुन आएको आयआर्जन रकम सरकारको ढुकुटीमा तान्ने व्यवस्था गर्न लागेको छ । त्यो रकम समितिको आफ्नो सम्पत्ति नभइ बीमा व्यवसायीबाट उठाइएको रकम भएको अर्थ मन्त्रालय स्रोत बताएको छ ।

‘अब बीमा समिति सरकारको अधिनमा रहेर प्राधिकरण मोडेलमा सञ्चालन हुन्छ,’ अर्थ उच्च स्रोतले भन्यो–‘ व्यवसायीबाट असुलेको रकम समितिको हुँदैन । ’ विद्यमान व्यवस्था अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल प्रिमियमको एक प्रतिशत रकम बीमा समितिले पाउने प्रावधान छ ।

सो प्रिमियमबाट समितिमा आएको रकमबाट बीमा समितिले हालसम्म चार अर्ब रुपैयाँ सञ्चित गरेको छ । हाल बीमा समितिले सो रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा राखेर वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया