फेसबुक, भाइबर, ट्विटरहरू चलाउनेमाथि कर लगाउने तयारी


आर्थिकन्यूज

काठमाडौं, साउन २३ । सरकारले अब सोसल मिडियामा पनि कर लगाउने भएको छ । फेसबुक, भाइबर, ट्विटर तथा ह्वाट्स एपजस्ता सोसल मिडियामा कर लगाउने तयारी सरकारले थालेको हो ।

अर्थ मन्त्रालयले यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थले आन्तरिक राजस्व विभागलाई यस्ता प्लेटफर्ममा कर लगाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

‘मन्त्रालयले सोसल मिडियालाई पनि करको दायराभित्र ल्याउन आवश्यक देखिएकाले करको दायराभित्र पार्न निर्देशन दिएको हो । सरकारले करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउन लिएको नीतिसँगै सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको हो । पछिल्लो समय सामाजिक सञ्जालको उपयोग बढ्दै गएको छ ।

दिनहुँ सामाजिक सञ्जालबाट धेरै रकम बाहिरिए पनि नेपालले यसबाट कुनै फाइदा लिन नसकेको नयाँ नीतिगत व्यवस्था गर्न लागेको हो । अब यस्ता सञ्जाल कम्पनीहरू नेपालमै उद्योगका रुपमा दर्ता हुनुपर्ने छ ।

यसअघि युगान्डा सरकारले फेसबुकलगायतका सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लगाउने कानुन स्वीकृत गरेको थियो । तर, कर भने अझै लगाउन सकेको छैन । उक्त कानुनको समर्थन गर्दै राष्ट्रपति योवेरी मुसेवनीले सोसल मिडियामा अफवाह रोक्नका लागि यस्तो कानुन लागू गर्न लागिएको बताएका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्यामा वृद्धि हुँदै ३ करोड २८ लाख २६ हजार ३ सय ८९ पुगेको छ । गत आर्थिक वर्षमा यो संख्या करिब ३ करोडको हाराहारीमा रहेको थियो । प्रायः मोबाइल प्रयोगकर्तामध्ये ६० देखि ८० प्रतिशतसम्मले कुनै न कुनै सोसल मिडिया प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया