एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किए


आर्थिकन्यूज

काठमाडौं, साउन २१ । ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाली टोली काठमाडौं आइपुगेको हो । स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा भव्य स्वागत गरे ।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार ब्यहोरे पनि पनि दोस्रो खेलमा रोमाञ्चक जित हात परेर खुसीका साथ स्वदेश आइपुगेको हो ।

एक दिवसीय क्रिकेट सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको थियो । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्याएको हो ।

उक्त दोस्रो सिरिजमा बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने, १० ओभर बलिङ गरेका सन्दीपले ४१ रन खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि ललितसिंह भण्डारीले २ विकेट लिए ।

नेपालले दिएको २१७ रनको चुनौति सामाना गर्दै ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१५ रन मात्रै बनाउन सकेका थिए ।

नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ७१ रन बनाए । उनले ८९ बलमा ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । त्यस्तै, नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राकले ३९, पिटर सेलयरले २१, बेन कोपरले १९ र शेन स्नाटरले १२ रनको योगदान दिएका थिए ।

नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उनले नेपालका लागि छटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएको थियो ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै विकेट गुमाएपनि मध्यम स्कोर बनाउन सफल भएको हो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

यसअघि नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमाएको हो । दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, ज्ञानेन्द्र मल्ल १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए । त्यस्तै, रोहित कुमार पौडेल ६ रनमा आउट भएका थिए । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो ।

सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

नेपाल आफ्नो एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नै पराजित हुन पुग्यो । जित नजिक पुगेको नेपाल मिडिल अर्डर ब्याट्सम्यान नचल्दा हारको सिकार बनेको थियो । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४१।५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।

नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रनएपनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सलाई १८९ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया