निगमको नयाँ एयरबस दोहा पुगेर फर्कियो


आर्थिकन्यूज

काठमाडौं, साउन १७ । नेपाल वायुसेवा निगमले हालै खरिद गरेको एयरबस ३३०–२०० वाइडवडी विमानले हिजोदेखि व्यावसायिक उडान प्रारम्भ गरेको छ । निगमले खरिद गरेका दुईवटा वाइड वडी विमानमध्ये यो पहिलो हो ।

नागरिक उड्डयन प्राधिकरणबाट उडानयोग्य प्रमाणपत्र (एओसी) प्राप्त गरेपछि दोश्रो विमानले पनि व्यावसायिक उडान गर्नेछ ।

बुधबार साँझ ९ः३० बजे दोहाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘अन्नपूर्ण नाम दिइएको उक्त विमान करिव ५ घण्टाको उडान पछि दोहा पुगेको थियो । २७४ सीट क्षमताको उक्त विमानबाट २४६ यात्रुले यात्रा गरेको निगमले जनाएको छ ।

उक्त विमान बिहीबार दोहाबाट काठमाडौं फर्किएका छ । उक्त उडानमा २५९ यात्रु सवार रहेको निगमले जनाएको छ । निगमका अनुसार विमानलाई क्या. फ्रास्वाँ फेनार्ट र क्या. श्रवण रिजालले उडाउनु भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानमा दोहा जान लागेका यात्रुलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र नायब महाप्रवन्धक गणेशबहादुर चन्दले विदाई गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया