डा. गोविन्द केसीको समर्थनमा आजबाट चिकित्सक हडतालमा, आकस्मिकबाहेका सबै सेवा बन्द


आर्थिकन्यूज
डा. केसी
फाइल तस्बिर

काठमाडौं , असार २९ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले शुक्रबारदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा.विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् ।

एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घण्टा सेवा छाडेर धर्नाको कार्यक्रम जारी राखेका छन् । संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतवनी दिँदै आएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ । नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया