भक्तपुर जलमग्न, उद्धारकार्य जारी


आर्थिकन्यूज

काठमाडाैं, असार २८ । राजकुलोको पानी अनियन्त्रित रुपमा बस्तिमा पस्दा भक्तपुरको निकोसेरा , राधेराधे क्षेत्र पूर्ण रुपमा जलमग्न हुन पुगेको छ । हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा पर्दै आएको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र पनि जलमग्न छन् । राधेराधेस्थित भाटभटेनी पहिलो तलासम्म जलमग्न रहेको छ । उक्त क्षेत्रको विद्युत लाईन विहानै कटान गरि उद्धारकार्य तिब्र बनाइएको छ ।

हनुमन्ते खोलाले भक्तपुर हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर समस्या समाधान गर्न कसैले चासो नदिएको गुनासो भक्तपुरबासीले गर्दै आएका छन् । बस्ती बिकास भएसँगै पानीको उचित निकास नहूँदा बर्षेनी यस क्षेत्रका बस्ती डुबानमा पर्दै आएका छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे(निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।

बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् । बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।

सम्बन्धित भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया