नक्सा पास नगरी धरहराजस्तै बनेका घरलाई राहत, भत्काउनु नपर्ने


आर्थिकन्यूज

काठमाडौं, असार २८ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गर्दै गरेका तथा निर्माण सम्पन्न भएका घरलाई पनि स्वीकृत दिने भएको छ । यसअघि नक्सा पास नगरी अनधिकृत रुपमा बनाइएको घरको नक्सा पास नगर्ने भनिएता पनि बुधबार बसेको काठमाडौं महनगरपालिको नगर परिषद्को बैंठकले राजस्व र जरिवाना तिरेर घरको नक्सा पास गर्ने तयारी थालेको हो ।

महानगरमा दुई/तीन तला घरको नक्सा पास गराएर आफ्नो मनोमानीमा भाडा खानको लागि सोभन्दा धेरै तला घर निर्माण गर्ने गरेका छन् । महानगरले गर्न लागेको यस्तो व्यवस्थाले नियम मिचेर घर निर्माण गरेका घरधनीले पनि घर भत्काउनु नपर्ने भएको छ ।

घर निर्माण भएको क्षेत्रफलको आधारमा आठ तलासम्मको घरलाई इन्जिनियरले गरेको प्रमाणीकरणका आधारमा घरको नक्सा पास गर्न लागेको जानकारी काठमाडौं महानगरपालिकाले दिएको छ ।

विद्यमान कानुनमा नक्सा पास नगरी निर्माण सम्पन्न भएका तथा हुने क्रममा रहेका घरका घरधनीलाई ५ लाख जरिवाना सहित घर भत्काउनेसम्मका कारबाही तोकिएको छ । काठमाडौंमा यसरी कानुनी सीमाभन्दा बाहिर करिब ९० प्रतिशत घर रहेका छन् ।

सो कानुनको हुबहु कारबाही गर्दा आमजनतालाई मार पर्ने भन्दै निश्चित शर्तका आधारमा निर्माणको क्रममा रहेका तथा निर्माण सम्पन्न भएका घर भत्काउन नपर्ने व्यवस्था महानगरले गर्न लागेको हो । जनताको हितका लागि भन्दै महानगरले उक्त प्रस्ताव प्रदेश सरकार समक्ष लैजाने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया