एनएमबिको एफपिओ भर्ने आज अन्तिम दिन


आर्थिकन्यूज

काठमाडौं, असार २८ । एनएमबि बैंक (NMB Bank Limited) को थप सार्वजनिक निष्काशन (एफपिओ) मा आवेदन दिने आज विहीबार अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३० गतेदेखि २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको हो ।

असार ३ गतेसम्म सर्वसाधारणहरुलाई मात्र निष्काशन गरेकोमा न्यून आवेदन परेपश्चात असार ४ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत बैंकको एफपिओ खुला भएको थियो ।

असार २७ गतेसम्म ६७ हजार १०५ आवेदकले दुई अर्ब ८८ करोड रुपैयाँ बराबरको एफपिओ माग गरेका छन् । यस तथ्याङ्क अनुसार बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्तामध्ये ८६ लाख ४८ हजार कित्ता शेयर मात्र विक्री भएको छ । बैंकको २७ लाख ६७ हजार कित्ता शेयर अर्झै विक्री हुन बाँकी रहेको देखिन्छ ।

बैंक (NMB) को एफपिओ निष्काशन तथा बिक्रि प्रबन्धक नागारिक लगानी कोषले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट विहीबारसम्म पनि सबै एफपिओ विक्री नभएको हुँदा असार २९ गतेदेखि बैंकको संस्थापकहरुलाई शेयर विक्री गर्ने भएको छ । असार २८ गतेसम्म आवेदन नपरेको शेयरमा संस्थापक, सञ्चालक तथा तिनका परिबारका सदस्यहरुले असार ३२ गतेसम्म आवेदन गर्न पाउने भएका छन् ।

लगानीकर्ताले एफपिओमा मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट विहीबार कार्यालय समयसम्म आवेदन गर्न सक्नेछन् ।

बुधबार मात्रै बैंकले एफपिओका लगानीकर्ताहरुले समेत पाउने गरि गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस घोषणा गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया