सेमीफाइनलको अन्तिम खेल आज, इंग्ल्यान्ड र क्रोएसियाबीचको खेल कस्तो रहला ?


आर्थिकन्यूज

एजेन्सी, असार २७ । हाल रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज इग्ल्यान्ड र क्रोएसियाबीच रसियाको मस्को स्थित लुज्निकी रंगशालामा नेपाली समयअनुसार ११ः४५ मा प्रतिस्पर्धा हुँदैछ ।

यता फ्रान्स भने फाइनलमा प्रवेश गरिसकेको छ । मिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो ।

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो ।

पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए भने रसियाको सेन्ट पिटर्सबर्गमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए ।

खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

कस्तो छ इग्ल्यान्ड र क्रोएसिया ?
विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्सले अब क्रोएसिया र इंग्ल्यान्डबीचको आजको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

आज खेल्ने दुबै टिम आजको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछन् । सन् १९६६ मा विश्वकपको उपाधी उचालिसकेको इग्ल्यान्डसँग दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया भिड्दैछ । क्रोएसिया यसअघि फ्रान्सले आयोजना गरेको सन् १९९८ को विश्वकपमा तेस्रो भएको थियो ।

जारी विश्वकप फुटबलको सेमिफाइनल पुगेको इग्ल्यान्ड समूह जि को उपविजेता टिम हो । इग्ल्यान्डले समूह चरणका खेलमा ट्युनिसियालाई २—१ र पानामालाई ६—१ गोल अन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १—० गोल अन्तरले पराजित भएको थियो । त्यसैगरी, प्रि—क्वाटरफाइनल खेलमा इग्ल्यान्ड र कोलम्बियाबीचको खेल निर्धारित समयसम्म १—१ गोल बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

इग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । त्यस्तै, क्वाटरफाइनल खेलमा इग्ल्यान्डले स्वीडेनलाई २—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । यता, क्रोएसिया पनि सँगै रहेको समूहमा विश्वकप विजेताको दाबेदार मानिएको राष्ट्र अर्जेन्टिना रहेकाले सुरुमा क्रोएसियाका लागि कठिन हुने आंकलन गरिएको थियो । तर, क्रोएसियाले समूह चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । समूह चरणका खेलमा नाइजेरियालाई २—०, अर्जेन्टिनालाई ३—० र आइसल्यान्डलाई २—१ गोल अन्तरले परािजत गर्दै प्रि—क्वाटरफाइनल प्रवेश गर्यो ।

त्यस्तै, प्रि—क्वाटरफाइन खेलमा क्रोएसियाले डेनमार्कसँग खेलेको थियो । क्रोएसिया र डेनमार्कबीचको खेल १—१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३—२ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्यो । क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक राष्ट्र रसियासँग खेलेको थियो । रसियासँगको खेलमा क्रोएसियाले निर्धारित समयसम्म २—२ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा क्रोएसियाले रसियालाई ४—३ गोल अन्तरले पराजित गरेको थियो ।

सेमिफाइनल खेल्न लागेका दुवै टिम बलिया हुन् भने दुवै टिमलाई स्टार खेलाडीको साथ पनि छ । इग्ल्यानडका लागि कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, मार्कस रास्फोर्ड लगाएतका खेलाडी छन् । त्यस्तै, क्रोएसियालाई कप्तान लुका मोड्रिक, एनटी रेविक, इभान रकिटिक लगायतका स्टार खेलाडीको साथ पनि उत्तिकै छ ।

पटक पटकको खेलहरुमा इग्ल्यान्ड र क्रोएसियाको भेट ७ खेलमा भएको छ । त्यसमध्ये ४ खेल इग्ल्यान्डले जितेको छ भने २ खेल क्रोएसियाले बाजी मारेको छ । र १ खेल भने बराबरी खेलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया