पाइलट नभएर उड्दैन चिनियाँ जहाज, निगमले यसरी ढाँट्दैछ


आर्थिकन्यूज

काठमाडौं, असार २७ । पाइलट र व्यावसायिक कार्ययोजनाको अभावमा नेपाल वायु सेवा निगमले चीनबाट खरिद गरेर ल्याएको एमए ६० जहाज उड्न नसकेको लामो समय भयो । यस्तै अवस्था छ वाई १२ मोडेलको चिनियाँ जहाज ।

चीनबाट ल्याएको जहाज उडाउनका लागि पाइलट नभएको अवस्थामा जहाज ग्राउन्डेड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका जहाज थन्किइरहेको छ । तर, निगमका महाप्रबन्धक भने पाइलट रहेको भन्दै दुनियाँलाई ढाँटी रहेका छन् । निगमका लागि ११६ पाइलट आवश्यक पर्ने देखिएको छ ।

महाप्रबन्धक कसांकारका अनुसार आगामी तीन साताभित्र आइपुग्ने अर्को एक वाइड बडी जहाजलाई समेत गरी त्यति संख्यामा पाइलट आवश्यक पर्नेछ । तर, निगमसँग हाल ८८ पाइलटमात्रै उपलब्ध छन् ।

थप २८ पाइलट आवश्यक पर्ने भएकाले विदेशी पाइलट करारमा लिएर भए पनि सेवा दिने निगमको लक्ष्य रहेको बताउँदै आएको छ ।

आन्तरिक उडानका लागि प्रतिपाइलट मासिक १२ लाख र अन्तर्राष्ट्रिय उडानका लागि १८ लाख रुपैयाँ तलब भत्ता उपलब्ध गराउनुपर्ने निगमको भनाइ छ । देशभित्रका पाइलट बेरोजगार भएर विदेशिरहेका बेला निगम भने विदेशी पाइलट ल्याउने योजनामा लागेको छ ।

उसले दुई वाइड बडी जहाजका लागि १२ पाइलट र १२ को-पाइलट उपलब्ध गराउने प्रक्रिया शुरु भएको जनाएको छ । यस्तै केही महिनाभित्रै छ चालक र छ सहचालक पनि तयार हुने गरेको उसले जनाएको छ ।

चिनियाँ विमान एमएम ६० को लागि चालक उपलब्ध छन् । यस्तै वाई १२ जहाजका लागि चार चालक उपलब्ध छन् भने ती जहाजको सहचालक निगम भित्रैदेखि व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ । तर, पाइलट नभएर चिनियाँ जहाज उडन सकेको छैन ।

निगमको आन्तरिक गन्तव्यमा बजार खस्किएको छ । निगमको बजार तीन प्रतिशतमा सीमित भएको छ ।

निगमले नयाँ थपिएका जहाजले ११ गन्तव्यमा उडान गर्ने भएको छ । आगामी साउनको दोस्रो सातादेखि उडानमा आउने वाइड बडी जहाज तथा नियमित उडानमा रहेका न्यारो बडी जहाजले समेत ती गन्तव्यमा उडान गर्ने जनाएको छ । तर, विजदेशी पाइलटलाई मासिक १८ लाख दिन तयार हुने निगमले स्वदेशी पाइलटलाई भने देशभित्र राख्न सकेको छैन ।

विदेशी पाइलटले जहाजको सुरक्षा तथा अन्य विषयमा के कस्तो काम गर्लान् भन्ने आशंका पनि रहेको छ । निगमले आन्तरिक बजार विस्तारका लागि पनि योजनाबद्ध प्रयास गर्ने भएको छ ।

निगमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बजार हिस्सा बढाउने र आगामी दुई वर्षभित्र थप आठ विमान भित्र्याउने लक्ष्य लिएको छ ।

निगमले हाल मुलुकका २३ गन्तव्यमा जहाज उडाइरहेको छ । निकट भविश्यमा नै रुम्जाटार, साँफेबगर, चौरजहारीमा सेवा दिने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया