अझै १९७ वटा स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेन, प्रतिशाखा ४४९० जनालाई सेवा


आर्थिकन्यूज

काठमाडौं, असार २७ । सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने नीति लिएको भए पनि अझै १९७ वटा स्थानीय तहमा बैंकिङ पहुँच पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ७५३ स्थानीय तहमध्ये २०७५ असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ । त्यस्तै २०७५ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या २९१९, विकास बैंकहरुको ९५१, वित्त कम्पनीहरुको १८३ र लघुवित्त संस्थाहरुको २३६५ गरी कुल शाखा संख्या ६४१८ पुगेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब ४४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिन्छ । २०७४ जेठमा यस्तो संख्या ५८०९ रहेको थियो । २०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त

कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । एटीएम संख्या २६२४ रहेको छ । त्यसैगरी, मोबाइल बंैकिङ्गका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ७ लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया