व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न माग


आर्थिकन्यूज

काठमाडौं, असार २६ । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीमैत्री ऐन कानुन निर्माणका लागि पहल गरिदिन कानुनमन्त्री शेरबहादुर तामाङसमक्ष आग्रह गरेको छ । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीमैत्री ऐन कानुनको अभावमा व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी पनि गराएको छ ।

व्यवसायीहरुको समस्या स्थायी रुपमा सम्बोधन हुने गरी यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न मन्त्री तामाङसमक्ष आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । यसैबीच महासंघका उपाध्यक्ष पेम्वा लामा शेर्पाको विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरलानाका–अपरमुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकोेमा महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शिघ्र स्वास्थ्य लाभको लागि कामना गरेको छ । अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको यस घटनालाई भवितब्य ठान्दै महासंघले घाइतेहरुको उचित उपचारको व्यवस्थाको लागि आ–आफ्नो ठाँउबाट सहयोग गरिदिन स्थानीय निकाय, ट्रेड युनियनहरु, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायी सबैलाई अनुरोध गरेको छ । साथै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया