नागढुङ्गा सुरुङमार्गले २६७ रोपनी जग्गाको मुआब्जा लिन बोलायो, ३ वर्षभित्रै नेपालकै पहिलो सडक सुरुङमार्ग बन्ने


आर्थिकन्यूज
नागढुङ्गा सुरुङमार्गको फाइल स्केच

काठमाडौं, असार २६ । नागढुङ्गा सुरुङमार्गले काठमाडौं तर्फको जग्गा अधिग्रहण गर्न २६७ रोपनी जग्गाको मुआब्जा लिन बोलाएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग निर्माण गर्न काठमाडौंबाट प्रवेश विन्दूको क्षेत्र अन्तर्गत चन्द्रागिरि नगरपालिकाको साविक महादेवथान, बलम्बु, दहचोक र थानकोटमा पर्ने उक्त जग्गाको लागि मुआब्जा लिन बोलाएको छ ।

यो नगरपालिकको १, ३ देखि ७ सम्म र १२ नम्बर वडामा पर्ने उक्त क्षेत्रको सो जग्गाबाट दुई किमिको सुरुङमार्ग निर्माण हुँदैछ । यो सुरुङमार्ग बनाउँन पहिले काठमाडौंतर्फको जग्गाको मुआब्जा तय गरेर रकम बुझ्न आउने सम्बन्धि सूचना जारी भएको छ । काठमाडौंतर्फको जग्गाको मुआब्जा वितरण सकिएपछि धादिङ खण्डको १०९ रोपनी जग्गाको मुआब्जा वितरण गरिने सुरुङमार्ग निर्माण आयोजना निर्देशक इन्जिनियर छवि पौडेलले बताएका छन् ।

जग्गाको मुआब्जा वितरण सकिएपनि सुरुङमार्ग बनाउँन सार्वजनिक प्रस्ताव माग्ने तयारी भइरहेको पनि आयोजनाले जानकारी दिएको छ । यो सुरुङमार्ग बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण सहयोग गरेको छ । करिब २० अर्ब रुपैयाँ लागत रहेको यो सुरुङमार्गमा बनाउँन जाइकाले १७ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ ।

बाँकी रकम नेपाल सरकारले व्यहोर्ने भएको छ । जापानले सरकारले यो सुरुङमा बनाउन जम्मा शून्य दशमलव एक प्रतिशत सहुलियन ब्याजमा नेपला सरकारलााई ४० वर्षभित्र चुक्ता गर्ने गरी ऋण सहयोग उपलब्ध गराएको छ ।
सरकारले जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक विभागको वैदेशिक समन्वय महाशाखाले तयार पारेकोप्रतिवदेन अनुसार मुआब्जा वितरण गर्न लागिएको हो ।

जग्गा पर्नेलाई मुआब्जा निर्धारण भएअनुसार सम्बन्धित जग्गा धनीले आआफ्नो जग्गाको जग्गाधनी प्रमाणपूर्जा, तीरो तिरेको रसिद, सम्बन्धित नगरपालिका र वडाको सिफारिश, नागरिकताको प्रतिलिपि तथा अन्य प्रमाणहरूको सक्कलसहित उपस्थित हुन आग्रह गरेको छ । मुआब्जा लिन सडक विभागको बैदेशिक समन्वय महाशाखाको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको कार्यालय ज्वागल ललितपुरमा उपस्थित हुन पनि आग्रह गरेको छ ।

यो नेपालकै पहिलो सडक सुरुङमार्ग बनाउन लागिएको हो । यो सुरुङमार्ग बनेपछि हाल चार किमिको सडक दुई किमिमै छोट्टिने भएको छ । सडक विभागले यो सुरुङमार्गको सार्वजनिक प्रस्ताव माग्ने पनि अन्तिम तयारी गरिसकेको छ ।

यो सुरुङ मार्ग काठमाडौंको नागढुंगा नपुग्दै चन्द्रागिरि नगरपालिकाको बस्नेतछापबाट सुरु भएर धादिङको धुनिवेशी नगरपालिकाको सिस्नेखोला निस्कनेछ । सुरुङ मार्ग जान हालको मूल सडकबाट दुबैतर्फ एकएक किमिको यात्रा तय गर्नुपर्ने छ ।

हालको नागढुङ सडक उकालो र धेरै घुम्तिको, सवारीको चाप अधिक हुने भएको हुँदा सडकसमेत छिटो बिग्रने गरेको छ । जसका कारण यो सडकमा जोखिम र हैरानी बढेको भन्दै सरकारले सुरुङर्मा बनाउन लागेको हो ।

सुरुङ बनाउन चालु आवमा सरकारले १० अर्बको बजेट विनियोजन गरेको थियो । जग्गा अधिग्रहण बोहेकको काम यो बजेटबाट नहुने भएकाले यसलाई आगामी आब २०७५/७६ मा खर्चगर्ने गरी तय गरिएको छ । यो बजेबाट पनि आगामी आवमा ६ अर्ब ४४ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेर सरकारले सोही अनुसारको बजेट विनियोजन गरेको महाशाखाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया