डलरको मूल्य अहिलेसम्मकै बढी, नेपालमा कहाँ–कहाँ पार्यो नोक्सान ?


आर्थिकन्यूज

काठमाडौं, असार २२ । नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ । डलरको मूल्य बढ्दा सबैभन्दा बढी प्रभाव निर्माणमा रहेका जलविद्युत् आयोजनाका ठेकेदारको भुक्तानी तथा विदेशबाट समान आयातमा पर्ने देखिएको छ ।
वैदेशिकर रोजगारीमा रहेका नेपालीलाई फाइदा हुने भए पनि त्यसले मुलुकको अर्थतन्त्रलाई भने नकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो दुई महिनामा डलरको मूल्य करिब आठ रुपैयाँले बढेको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएसँगै त्यसले नेपालको व्यापारघाटा थप चुलिने र कुल गार्हस्थ उत्पादनको आकारमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक डलर खरिद गर्न नेपाली मुद्रा ११० रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने अवस्था आएको थियो । भारतीय रुपैयाँको मूल्य डलरको तुलनामा घटेसँगै भारतसँग स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ पनि सस्तो भएको हो ।

डलरको मूल्य बढ्दा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद गरिरहेका खिम्ती, माथिल्लो मस्र्याङदी ‘ए’ जस्ता आयोजनालाई बढी भुक्तानी दिनुपर्ने अवस्था रहेको छ । त्यसले प्राधिकरणको आर्थिक अवस्थालाई कमजोर बनाउने निश्चित प्रायः देखिएको छ । यस्तै विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जस्ता आयोजनाका ठेकेदारलाई गर्नुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

समय र लागत बढ्दै जाँदा माथिल्लो तामाकोशीमा हाल दैनिक करोड बराबरको घाटा भइरहेको छ । डलरको मूल्य बढ्ने वित्तिकै सो आयोजनाको ठेकेदारलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ । यस्तै अरु विकास निर्माणका काम गरिरहेका ठेकेदार तथा निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

विदेशबाट समान आयात गर्दा समेत डलरमा नै भुक्तानी गर्नुपर्ने भएकाले लागत समेत बढी पर्ने भएकाले मुलुकको भुक्तानी सन्तुलनमा समेत समस्या खडा हुने भएको छ । तर, डलर महँगो हुँदा ठूलो मात्रामा विदेशबाट आउने विप्रेषणको आप्रवाह बढ्ने ठानिएको छ । एक भारु बराबर १.६० नेपाली रुपैयाँको विनिमय दर रहने सम्झौता गरिएका कारण पनि समस्या परेको छ ।

डलरको भाउ बढ्दै गए नेपालीको दैनिक उपभोग्य वस्तुदेखि लिएर देशको अर्थतन्त्रमै असर पर्ने देखिएको छ ।
नेपालको निर्यातको अवथा एकदमै कमजोर रहेको छ । आयातको मात्रा बढी भएका कारणले पनि डलरको मूल्य बढ्ने बित्तिकै सबैभन्दा बढी समस्या बजारमा देखिन थाल्छ । यस्तै पेट्रोलियम पदार्थको आयातमा समेत समस्या थपिनेछ ।
आयातित सामान खरिद गर्दा डलरमै तिर्ने हो । डलरको मूल्य बढेपछि व्यापारघाटा बढ्न सक्ने देखिएको छ ।

व्यापारघाटा बढ्दै गयो भने यसले हाम्रो कुल गार्हस्थ उत्पादनको आकारमा पनि प्रभाव पार्नसक्ने अवस्था देखिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा व्यापारघाटा रु ९ खर्ब १९ अर्ब पुगेको छ । आयातित वस्तुको भाउ बढेपछि आयातित वस्तुको मूल्य बढ्ने र आन्तरिक बजारमा समेत त्यसले नकारात्मक प्रभाव पर्ने निश्चित प्रायः देखिएको छ ।

डलर महँगो हुँदा विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले तिर्ने शुल्कमा समेत बढोत्तरी हुने निश्चित नै भएको छ । यस्तै वैदेशिक ऋण भुक्तानी गर्न भनी बजेटमा छुट्याइएको रकम अब बढ्नेछ । सरकारले यस वर्ष साँवा र ब्याज दुवै गरी करिब २८ अर्ब रुपैयाँ वैदेशिक ऋण तिर्ने गरी व्यवस्था गरेको छ । तर, अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको विप्रेषण आप्रवाह भने बढ्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा काम गर्ने नेपालीलाई लाभ भए पनि तेस्रो मुलुकबाट आयातमा पनि नकारात्मक प्रभाव पर्नेछ । तर, आयातको तुलनामा निर्यात निकै कम हुने भएकाले नकारात्मक प्रभाव नै बढी हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । व्यापार युद्धका कारण चीन, भारत, अमेरिका तथा समग्र युरोपमा समेत समस्या खडा भएको छ । त्यसले नेपाली अर्थतन्त्रलाई थप नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया