किन बढीरहेको छ अवैध भीओआईपी ? १२ अर्ब बढीको ठगी


आर्थिकन्यूज

काठमाडौं, असार २२ । प्रविधिले सबै क्षेत्रमा सहज वातावरण बनाइदिए पनि चोरी, विकृति, विसंगति तथा अन्य गलत क्रियाकलाप समेत बढ्दै आएको छ ।

इन्टरनेटका कारण भाइबर, म्यासेन्जर, वीच्याट, इमो जस्ता मोबाइल एप मार्फत संसारका जुनसुकै कुना र क्षेत्रमा समेत सम्पर्क गर्न सकिन्छ । तर, प्रविधिलाई भन्दा पनि केही नाफाखोर प्रवृत्तिका मान्छेले प्रविधिको गलत प्रयोग गरेर गैरकानुनी काम गर्दैै आएका छन् ।

प्रविधि तथा इन्टरनेटले हरेक कामलाई सहज बनाए पनि नेपालमा अझै पनि अवैध भीओआईपी धन्दा जारी रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अध्ययनलाई नै आधार मान्ने हो भने नेपालमा अझै पनि ठूलो र संगठित गिरोह भीओआईपीमा संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार एक सय तीन स्थानबाट अवैध कल बाइपास हुने गरेको छ । सीआईबीले अवैध कल बाइपासको आरोपमा हालसम्म १ सय ६० जना पक्राउ गरी अदालतमा मुद्दा समेत दायर गरिसकेको जनाएको छ । पक्राउ परेकामध्ये १सय २६ जना नेपाली र ३४ जना विदेशी नागरिक छन् ।

सो कार्यमा भारतीय, बंगलादेशी नागरिक बढी रहेका छन् । छोटो समयमा नै मोटो रकम कमाई हुने आशमा विदेशीले भनेको मान्दै गलत काम गर्ने प्रवृत्ति नेपाली नागरिकमा समेत बढेको छ । सानो एन्टेना वा देखिने नदेखिने उपकरण प्रयोग गरी अवैध रुपमा विदेशबाट आएका कल बाइपास गरेर कमाऊ धन्दा गर्ने प्रवृत्ति बढेको छ । प्रविधिको प्रयोग गरेर गलत काम गर्ने प्रवृत्ति बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न प्रहरी पूर्ण रुपमा सफल हुन सकेको छैन ।

प्रहरीका अनुसार अवैध रुपमा गेट वे खडा गरी कल बाइपास गर्ने गिरोहले हालसम्म करिब १२ अर्ब बराबरको लुटपाट गरिसकेको छ । सो गिरोहले अवैध रुपमा के कति कमायो भन्ने बारेमा पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीसँग प्रविधिको अभावमा ठूलो गिरोहलाई अझै पक्राउ गर्न सकेको छैन ।

हालसम्म कुन मोबाइल टावरबाट के कति मात्रामा रिचार्ज भयो, कुन लोकेशनमा फोन बढी व्यस्त हुने गरेको छ । कुन क्षेत्रमो नेटवर्कमा बढी व्यस्त देखाउँछ भन्ने आधारमा मात्रै प्रहरीले अनुसन्धान गर्ने गरेको छ । विश्वका धेरै जसो मुलुकबाट आएका कललाई अवैध रुपमा बाइपास गरी आफ्नो गेट वेमा ल्याउने र त्यसबाट कमाई धन्दा गर्ने गरिएको छ । प्रहरीले सञ्चालन गरेको अप्रेसनमा सबैभन्दा बढी एनसेल, नेपाल टेलिकम र पछिल्लो दिनमा स्मार्ट सेलको सिम अवैध भीओआईपीमा प्रयोग हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार अवैध कल नियन्त्रण गर्दा मात्रै हालसम्म करिब २३ हजार सिमकार्ड बरामद गरेको छ । सरकारी निकायबाट कुनै प्रकारको अनुमति नलिई दूरसञ्चार सेवा प्रदायकहरुको सिमकार्ड अनाधिकृत रुपमा प्रयोग गर्ने गरेको पाइएपछि त्यस्ता स्थानमा प्रहरीले छापा हान्ने परम्परागत प्रवृत्तिका कारण मात्रै अवैध भीओआईपी नियन्त्रण हुन सक्दैन ।
त्यसका लागि गतिलो कानुनी प्रबन्ध, प्रविधिको प्रयोग तथा अन्य प्राविधिक रुपमा पनि प्रहरीलाई बढी सक्रिय गराउनु जरुरी भइसकेको छ ।

राज्यले प्राप्त गर्ने गेट वे वापतको रकम एउटा गिरोह तथा आपराधिक प्रवृत्तिका मान्छेले पाउने अवस्थाको अन्त्यका लागि समेत सरकारी निकाय बेलैमा चनाखो हुनु जरुरी भइसकेको छ । सरकारले अवैध रुपमा भीओआईपी सञ्चालन गर्नेलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कारबाही गर्ने गरेको छ । सो ऐन समेत समायानुकल हुन नसकेको बताइन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार अवैध धन्दा गर्ने त्यस्तो गिरोहलाई हदैसम्मको कारबाही गर्ने व्यवस्था हुनु जरुरी भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया