सरकारी उद्योग धरासयी हुँदा निजी क्षेत्रले धानेको हो


आर्थिकन्यूज
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्योगीका रुपमा चिनिने प्रदिपजंग पाण्डेले सरकारलाई औषधि उद्योग चलाउन हम्मे हम्मे परिरहेको बेलामा लोमस फरमास्यूटिकल्स उद्योग चलाएर निजी क्षेत्रले पनि औषधि उद्योग चलाउन सक्छन् भन्ने प्रमाणीत गर्ने उद्योगीमा रुपमा चिनिनुहुन्छ । ३४ वर्षअघि औषधि उद्योगमा लगानी गर्नु भएका पाण्डेले हाल बैंकिङ, इन्स्योरेन्स, सिमेन्ट, जलविद्युत र हवाइ क्षेत्रमा लगानी गर्नु भएको छ । ट्रेडिङ उद्योगमा लगानी गरेर ‘इजी मनि’ बनाउन मन नपराउने उद्योगी पाण्डे उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भइसक्नु भएको छ । उनै पाण्डेसँग आर्थिक न्युजडटकमले गरेको कुराकानीका सम्पादित अंशः

मुलुकको राजनीतिक तथा सामाजिक विषयमा धेरै परिवर्तन र विकास भएका छन् । हिजो राणा शासनदेखि अहिले गणतन्त्रसम्म आइपुग्दा सामाजिक विकासले फड्को मारेको छ । तर, औद्योगिक क्षेत्रको विकासक्रम भने झन् खुम्चिएको देखिन्छ । हिजो कुल गार्हस्थ उत्पादनमा १५ प्रतिशतभन्दा बढी योगदान दिने औद्योगिक क्षेत्रले अहिले ५/६ प्रतिशतमा खुम्चिएको अवस्था छ, यसमा कसको कमजोरी देख्नु हुन्छ ?

यहाँले एकदमै सही कुरा गर्नु भयो । अहिलेको अवस्था उत्तर र दक्षिण वा अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो उपस्थिति नै साघुरो हुँदै आएको छ । यसको मतलब हाम्रो उपस्थिति साँधुरो हुँदै गएको हो । दक्षिण अमेरिकाको सामान आयात भएर नेपाल आइपुग्छ । ब्राजिल, अर्जेन्टिना, कोलम्बियालगायतका सामान आयात भएको हामीले देखेकै छौं । बजार अहिले यति इन्फरमेटिभ भएको छ कि एक ठाउँमा उत्पादन भएको सामान विश्वका जुनसुकै देशमा पनि पुग्न सक्छन् ।

विश्वभरी आफ्नो उपस्थिति देखाउन र प्रतिस्पर्धा गर्न गुणस्तर चाहियो साथै गुणस्तर र परिमाण पनि चाहिन्छ । परिमाण दिन नसके अरु देशको उत्पादनसँग प्रतिस्पर्धा नै गर्न सकिँदैन । नेपालमा उत्पादन हुने वस्तु पनि विश्वस्तरीय छन् । जस्तै नेपालमा कफीको विश्वभरी डिमान्ड छ । तर, आपूर्ति गर्न सकेका छैनौ, चियामा पनि त्यस्तै छ । चिया, कफीलगायत नेपालमा धेरै उत्पादन हुने उत्पादनलाई ठूलो परिमाणमा निर्यात गर्न सकियो भने त्यसबाट हामीले विदेशी मुद्रा आर्जन गर्न सक्छौ । गुणस्तर र परिमाण राम्रो भएपछि ब्रान्ड बन्छ । यसले गर्दा हामीलाई निर्यात गर्न सहज हुन्छ ।

सरकारले पनि यसलाई प्राथमिकता दिएर त्यस्ता उद्योगलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ । हाम्रा हिमाली क्षेत्रमा उत्पादन हुने जडिबुटी पनि सदुपयोगमा ल्याएर विदेशमा निर्यात गर्न सकिन्छ । साउथ अमेरिकाको वस्तु हाम्रोमा आउन सक्छ भने हाम्रोबाट साउथ अमेरिकामा किन पठाउन सकिँदैन ?

तपाईले भनेजस्तै हामी निर्यातमुखी हुन सकेका छैनौ, यसमा कमजोरी चाहिँ कसको हो, विगतको इतिहास हेर्ने हो भने हाम्रा उद्योगबाट उत्पादन भएका वस्तु विदेशमा निर्यात गरिन्थ्यो तर अहिले त्यो छैन, यसमा निजी पनि क्षेत्र अलि कमजोर देखिएको हो ?
निजी क्षेत्रले नगरेको कदापि होइन, निजी क्षेत्रले धेरै गरेकोछ । जुन–जुन ठाउँमा आवश्यकता थियो त्यहाँ पुग्न अलि सकेको छैन । अर्को कुरा एक्सपोर्ट गर्दा भन्दा इमपोर्ट गर्दा सामान तुरुन्तै बिक्री हुन्छ । सरकारले उत्पादनमुलक उद्योगलाई प्राथमिकतामा नराखेपछि धेरै उद्योगीहरु ट्रेडिङ व्यापारमा ध्यान दिन थाले । मान्छेले जे गर्दा नाफा बढी हुन्छ त्यहीँ काम गर्छ । निजी क्षेत्रको सन्दर्भमा केही ठाउँमा पुग्न सकेको छैन होला तर गर्न चाहिँ गरेको छ ।निजी क्षेत्रले गरेन भन्न चाहिँ मिल्दैन । अहिले हवाई क्षेत्रमा नै निजी क्षेत्रका प्रशस्त जहाज नभएको भए के हुन्थ्यो ।

सरकारी संयन्त्रहरु थला परेको अवस्थामा निजी क्षेत्रले नै हवाई क्षेत्रको मागलाई धानेको छ । सरकारले गाइड गर्नुपर्ने गर्न सकेको छैन । सरकारी जति संस्था थिए ति सबै थला परे । सिमेन्टको क्षेत्रको कुरा गर्ने हो भने पनि ३ वटा सरकारी उद्योग त पहिलादेखि नै थियो नि । सबै डामाडोल भए, अहिले थला परेका छन् ।

केही राम्राराम्रा उद्योग थिए, सरकारले ती उद्योगलाई अघि बढाउन सकेनन् । त्यहाँ प्रविधि पनि राम्रै प्रयोग गरिएको थियो साथै गुणस्तर पनि राम्रो थियो । जस्तो सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्टको आफ्नै ब्रान्डिङ छ । सरकारी कतिपय उद्योग धरासयी हुँदा निजी क्षेत्रले पनि आफ्नो तर्फबाट उत्पादन गरेकै हुन् । सरकारले पनि उद्योगसम्म बाटो, बत्ती लगायतका सेवा पुर्याइदिएर सहयोग पनि गरेको हो । जसका कारण सिमेन्ट उद्योगरु बढेर आए । यसकारण सरकारले गरेका राम्रो कामहरुलाई राम्रो त भन्नु पर्यो नि ।

सरकारले यो उद्योग हामीलाई चाहिन्छ भनेर प्राथमिकता दियो भने मात्रै त्यो उद्योगको विकास हुन्छ । भारतमा उत्पादन हुने वस्तुको लागत र यहाँ उत्पादन हुने लागतमा विचार गर्नुपर्छ । सिमेन्ट उत्पादनलाई चाहिने ढुंगा खानी हामीसँग छ । तर, कोइला हामीसँग छैन त्यो चाहिँ आयात गर्नुपर्छ । भारत वा चीनमा भन्दा हाम्रो देशमा सिमेन्ट उत्पादन गर्न कत्तिको सहज छ भन्ने महशुस गर्नुपर्छ । विश्वको सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने चीन नै हो ।

चीनसँग प्रतिस्पर्धा गर्न सक्यौ भने हाम्रो सिमेन्ट निर्यात गर्न सक्छांै । नेपालको सिमेन्टमा गुणस्तर छ तर प्रतिस्पर्धी बन्न सकेको छैन । सरकारी उद्योग थला परेको अवस्थामा पनि निजी क्षेत्रले आन्तरिक माग धानेको त हो नि । आन्तरिक बजारका लागि मात्र पनि सिमेन्ट उद्योग स्थापना हुँदा यसले गर्दा बैंकले लगानी गर्ने ठाउँ पायो । धेरै मान्छेले रोजगारी पाए । यसकारण औद्यागिक, हवाई क्षेत्र, शिक्षालगायतका कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।

नेपालमा उत्पादमूलक उद्योग स्थापित हुन नदिन छिमेकीको पनि भूमिका छ, भनिन्थ्यो नि होइन ?
एकदम सही कुरा हो । सानो बच्चालाई हुर्काउन जति दुःख हुन्छ नि हो त्यस्तै दुःख हुन्छ उद्योग अघि बढाउनलाई । किनभने हामीले सबै कुरा बाहिरको भर पर्नुपर्छ । हिजो लोडसेडिङ हुँदा कसरी चले होलान त उद्योग । अन्य धेरै कुरा हामीलाई गाह्रो छ । हिजो श्रमिकका आन्दोलनलगायतका कारण धेरै गलैंचा उद्योग बन्द भए ।

तर अहिले धेरै कुरामा सुधार भने भएको छ । अहिले बन्द हड्ताल पनि भएको छैन । अहिले सरकारी नीतिको केही समस्या छ । सरकारका नीति नियम चाँडो चाँडो परिवर्तन भइरहन्छन् । कतिपय नीति आए पनि व्यवहारिक भने हुन सकेका छैनन् ।

बनाएका नीति कार्यान्यवन हुन सकेका छैनन् । बैंकको कर्जाको ब्याज बढिरहेको छ, कर्जा लिन गाह्रो छ । कर्जा नवीकरण गर्नुपर्ने लगायतका समस्या छन् । ढुवानी भाडा, इन्धनको मूल्य बढेका कारण कस्ट अफ फन्ड बढेको छ, यसकारण उद्योगलाई काम गर्न अहिले पनि गाह्रो छ ।

तपाईले उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पनि लिनु भयो, नेपाली वस्तु निर्यात गर्नका लागि के–कुराको कमी देख्नु भएको छ ?
एउटा उत्पादनशील क्षेत्र र अर्को सेवा क्षेत्र, यी दुवै क्षेत्रको भूमिका फरक छ । हिजो विभिन्न देशमा नेपालको सरकारी वायुसेवा निगमले उडान भरिरहेको थियो । अहिले त्यो बन्द भएको छ, अहिले हवाई रुट पनि भारतबाट मात्रै प्रयोग गर्न पाइएको छ । चीन सरकारले हवाई रुट दिएको छैन । हिजो भएका रुट पनि गुमाइएको छौं । मैले भन्न खोजेको हाम्रो सेवा क्षेत्र पनि खुम्चिएको छ । जसका कारण निर्यातमा समेत असर परेको छ ।

यसमा सरकारी पक्षकै कमजोरी देखिएको छ । अहिले बुद्ध एयरले नेपालगन्जबाट उडान भर्ने तयारी भइरहेको छ, यो राम्रो कुरा हो । अर्को उत्पादन क्षेत्रको कुरा गर्दा भनेको बाहिरको मूल्यलाई पनि तुलना गर्नुपर्ने हुन्छ । जस्तो चिनीकै कुरा गरौं, चिनी बाहिर देशको भन्दा नेपालमा उत्पादन भएको सस्तो हुने र माग अनुसारको उत्पादन गर्ने हो भने नेपालमा मात्रै नभएर संसारभरबाट डिमान्ड आउँछ । जस्तो कम्बोडियाको चामल विश्वभर पुग्छ । यसकारण कुन चाहिँ उत्पादन बाहिर जान्छ त्यसतर्फ ध्यान दिनुपर्छ ।

तपाईं आफै पनि उद्योगी व्यवसायी हो, नेपालको कृषि क्षेत्रलाई व्यावसायिक गर्नका लागि केही त्यस्तो योजना बनाउनु भएको छैन ?
केही मात्रामा कन्ट्याक्ट फार्मको कुरा आएको छ । कन्ट्याक्टमा जमीन लिएर जे उत्पादन हुन सक्छ त्यसको मात्रै उत्पादन गर्यो भने राम्रो हुन्छ । तर, यहाँ घरायसी प्रयोगका खेतीजस्तै एकै ठाउँमा तरकारी लगाएको छ, त्यहीँ बेसार, त्यही खुर्सानी, त्यही आलु, त्यहीँ प्याज हो यो गलत छ । जुन ठाउँमा जे राम्रो फल्छ त्यही लगाउनुपर्छ ।

अहिले पनि हाम्रोमा सिंचाइ तथा प्रविधिको सुविधा राम्रो छैन । यी सुविधा दिएर सरकारले कृषि उद्यम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । फेरि सरकारको अनुदान ल्याएर काम चाहिँ नगर्ने चलन पनि छ, त्यसो चाहिँ हुन दिनु हुँदैन । कृषिमा प्रोत्साहन गर्ने राज्यले नीति ल्याउने हो भने वैदेशिक रोजगारीमा जानेको संख्या पनि कमी हुन्छ र गएर आएका पनि स्वदेशमै कृषि पेशा गरेर बस्नेछन ।

पुँजी बजारमा रियल सेक्टर आएन जसका कारण पुँजी बजारको विकास भएन भनेर भनिँदै आएको थियो । आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा पुँजी बजारमा आउनुपर्ने उल्लेख गरिएको छ, यसले कस्तो प्रभाव पार्छ ?
रियल सेक्टर पुँजी बजारमा जानु राम्रो कुरा हो । सबैभन्दा बढी ट्रान्फरमेन्सी भएको कम्पनी भनेको बैंकिङ क्षेत्र हो । हरेक ट्रान्जेक्सनमा राष्ट्र बैंकको निर्देशन बैंकले मानेका हुन्छन् । निर्देशनअनुसार काम भएको छ कि छैन भन्ने कुरा राष्ट्र बैंकले अनुगमन पनि गरिरहेको हुन्छ । अहिले पुँजी बजारमा यी नै बैंकिङ क्षेत्रका साथसाथै बीमा कम्पनीको पनि बाहुल्यता रहेको छ । पछिल्लो समय हाइड्रोपावरको धमाधम आउन थालेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा पुँजी बजारमा आउनुपर्ने उल्लेख गरिएको छ यसले ट्रान्फरमेन्सी देखिन्छ र यो पक्ष एकदम राम्रो हो । पब्लिक आएपछि उनीहरु वाच डगको रुपमा रहन्छन् । यसले कम्पनीलाई पनि त फाइदा हुन्छ । यो गर्न सक्यो भने एकदमै राम्रो हो ।

बैंकहरुको ३० प्रतिशत चाहिँ पब्लिकमा जानु पर्ने नियम बनाइएको छ । तर, रियल सेक्टरलाई ल्याउँदा सरकारले कति प्रतिशत पब्लिकमा जानुपर्ने भन्ने विषयमा कार्यविधि बनाएको छैन, तपाईको विचारमा के लाग्छ ?
बैंक, वित्तलाई ३० प्रतिशत पब्लिकमा जानुपर्ने प्रावधान बनाइएको छ । कतिपय कम्पनी ४० प्रतिशत पब्लिकमा गएका पनि छन् । अब रियल सेक्टरलाई ल्याउँदा मेरो विचारमा अहिले १० प्रतिशत मात्रै दिए पनि पुग्छ । जान चाहिँ जानै पर्छ, जतिसुकै प्रतिशत भए पनि पुग्छ ।

तपाईले धेरै सेक्टरमा लगानी गर्नु भएको छ, तपाईले लगानी गरेका क्षेत्रमध्ये कुन चाहिँ क्षेत्रमा अलि बढी सन्तुष्टि मिलेको छ ?
राष्ट्र आवश्यकता हो, अनि आफूले गर्न चाहेको एउटा हुन्छ । मैले फर्मास्युटिकल्समा लगानी गरेको छु । ३४ वर्ष अगाडि मैले फर्मास्युटिकल्समा लगानी गरेको थिँए । ३४ वर्ष पहिले पढेलेखेका नेपाल सरकारका सचिवसमेतले नेपालमा पनि औषधि बन्छ र ? भनेर विश्वास गर्दैनथे । त्यो बेला एउटा मात्रै औषधि उद्योग थियो । गर्न चाहने हो भने असम्भव छैन । औषधि यस्तो चिज हो शतप्रतित परीक्षण नगरी बाहिर पठाउन मिल्दैन । त्यसको परीक्षण गर्ने विधि हुन्छन् । त्यसको विधि अनुसार परीक्षण, उत्पादन तथा प्याकेजिङ भएर बजारमा जान्छ । अहिले औषधिमा हामी आत्मनिर्भर छौं । यो क्षेत्रमा सन्तुष्ट छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया