रसिया र स्पेनको स्थिती कस्तो छ ?


आर्थिकन्यूज

एजेन्सी, असार १७ । रसिया विश्वकप फुटबलअन्तर्गत नक आउट चरणमा आज आयोजक राष्ट्र रसिया र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियालाई पहिलोपटक विश्वकपमा इतिहास रच्ने मौका मिलेको छ । मस्कोस्थित लुजनिकी रंगशालामा ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने होडमा रहेका छन् ।

स्पेन रसियाभन्दा बलियो टिम मानिएको छ । फिफा बरियतामा स्पेन १० औं स्थानमा रहेको छ भने दक्षिणकोरिया ५७ औं स्थानमा रहेको छ । फुटबल जगतमा नव उदीयमान राष्ट्रहरुकै दवदबा बढिरहेको बेला स्पेनलाई जित्न त्यति सहज नरहेको विश्लेषकहरु बताउँछन् ।

विश्वचर्चित खेलाडीले भरिभराउ भएको टिम हो स्पेन । सर्जियो रामोस, डिएगो कोष्टा, आन्ड्रेस इनिएस्टा, डेभिड सिल्भा, जेरार्ड पिके, इस्को जस्ता स्टार खेलाडी स्पेनमा रहेका छन् । यता, रसियामा भने कुनै चर्चित खेलाडी छैन । यद्यपी टिम निकै सन्तुलित रहेको छ ।

विश्वकप फुटबलको समूह चरण ए मा रहेको रसियाले आफ्नो पहिलो खेलमा नै शानदार प्रदर्शन गरेको थियो । आयोजक रसियाले साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गर्दै आफ्नो उपस्थिति दमदार गरेको थियो । दोस्रो खेलमा इजिप्टमाथि रसियाले ३–१ गोलअन्तरले विजयी भएको थियो । तर, आफ्नो समूह चरणको अन्तिम खेलमा भने उरुग्वेसँग ३–० गोलअन्तरले पराजित भएको थियो । समूह ए को उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको रसियाले स्पेनसँग खेल्न लागेको यो सबैभन्दा ठूलो खेल हो ।

यता, स्पेन भने समूह बि को विजेता टिम हो । पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा भने इरानलाई १–० गोलको कठिन जित हात पारेको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको थियो । हार नजिक रहेको अवस्थाबाट मोरक्कोविरुद्ध अन्तिम समयमा गोल गर्दै स्पेनले बराबरी खेलेको थियो ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक भेट भएको छ । स्पेनले ३ पटक जितेको छ भने ३ खेलमा दुबै टिमले बराबरी खेलेका छन् । रसिया र स्पेनले पहिलो पटक सन् २००४ मा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा स्पेन १–० गोलले विजयी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया