क्रस होल्डिङ बन्द गर्ने हो भने बीमा कम्पनीहरू आफैं मर्ज हुन्छन्


आर्थिकन्यूज

नेपालमा बीमाको इतिहास ७० वर्षभन्दा लामो भए पनि बीमाको पहुँच अझै पनि ९० प्रतिशतभन्दा बढी नागरिकसम्म पुग्न सकेको छैन । औपचारिक तथ्यांक नभए पनि बढीमा १० प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरू बताउँछन् । नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । पछिल्लो समय निर्जीवन बीमामा भने आकर्षण बढेको बताइन्छ । प्रस्तुत छ, यसै सन्दर्भमा युनाइटेड इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग आर्थिकन्यूज डटकमका लागि विजय फुयाँल र रोयल आचार्यले गरेको कुराकानी 

चालू आर्थिक वर्षको अन्त्य हुनै लागेको छ, युनाइटेड इन्योरेन्सको पुँजीको अवस्था के छ ?
बीमा समितिले तोकेअनुसारका पुँजी हाम्रो पुग्न बाँकी छ । बीमा समितिले तोके अनुसारको चुक्ता पुँजी हामी चाडै पुर्याउदैछौं । हामी २ सय ४० प्रतिशत हकप्रद शेयर दिदैछौं । हामी चाडै विशेष साधारणसभा बोलाउँछौं । विशेष साधारणसभामा हामीले २ सय ४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव लैजान्छौं । साधारणसभाले पारित गरेर हकप्रद शेयर वितरण गरेपछि हाम्रो पुँजी पुग्छ ।

अहिले हाम्रो मात्रै नभएर अधिकांशको पुँजी पुग्न बाँकी रहेको छ । केही इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी पुर्याएका छन्, अधिकांशले पुँजी पुर्याउन बाँकी छ ।

निर्जीवन बीमा बजारलाई कसरी हेर्नु भएको छ ?
समग्रमा भन्नु पर्दा जनरल इन्स्योरेन्स कम्पनीको विजनेस राम्रो छ । यसमा पनि कुन कम्पनीको चाहिँ राम्रो छ भन्ने कुरा हुन्छ । अहिलेको विजनेस भनेको पूर्ण रुपमा ‘क्लेम बेस विजनेस’ हो । अहिले मार्केटिङले त्यसै विजनेस ल्याउन सक्दैन । मैले देखेको कुरा अहिले जसले छिटो दाबी भुक्तानी दिन्छ, जसको सेवा सरल र छिटो छ उसकै विजनेस बढ्छ । पछिल्लो समय जनरल इन्स्योरेन्सको विजनेस क्लेम बेस भएको छ ।

नेपालको बीमा बजारमा भनेको बंगलादेशको जस्तै भएको छ । बंगलादेशमा जम्मा ४५ वटा कम्पनी छन् तर ती ४५ कम्पनीमध्ये एकदम थोरैले मात्रै राम्रो विजनेस गरेका छन् । अहिले नेपालमा १७ वटा जनरल इन्स्योरेन्स कम्पनीले कारोबार गरिरहेका छन् । बाँकी ३ वटा कम्पनीले पनि चाँडै कारोबार शुरु गर्दैछन् । ती सबै कम्पनी चल्छन । तर, कुन कम्पनी कति विजनेस साइजबाट चल्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

भनेपछि बीमा कम्पनीको संख्या धेरै भएर विजनेसमा समस्या देखिएको हो ?
समस्या देखिएको हो चाहिँ भन्न मिल्दैन । यहाँ २० वटा कम्पनीलाई नै विजनेस नपुग्ने भन्ने कुरा छैन । निर्जीवन बीमा कम्पनीका लागि विजनेस ल्याउने ठाउँ धेरै छन् । विजनेस ल्याउनलाई कुनै ठूलो समस्या छैन ।

विशेष र महत्वपूर्ण कुरा चाहिँ बीमा चेतनाको हो । बीमा चेतनाको अझै विकास हुन सकेको छैन । बीमाको चेतना गाउँ–गाउँमा पुग्न बाँकी छ । बीमाबारे नागरिकले बुझन नसकेका कारण नै अझै बीमाको पहुँचमा कम मात्रै नागरिक छन् ।

१० प्रतिशत नागरिकमात्रै यतिबेला बीमाको पहुँचमा पुगेको तथ्यांक छ, थोरैमात्र नागरिकमा बीमाको पहुँच पुग्नुमा कसको दोष देख्नु हुन्छ ?
बीमाको पहुँचमा कम मात्रै नागरिक छन्, यसको दोष कसैको टाउकोमा मात्रै थोपारेर हुँदैन । मैले अघि पनि भनिसके बीमामा नागरिकको पहुँच अत्यन्तै कम हुनुमा बीमा चेतनाको अभाव नै प्रमुख कारण हो । अहिले निर्जीवन बीमामा आफ्नो लागि भन्दा पनि बाध्यकारी व्यवस्थाका कारण बीमा गर्ने प्रचलन रहेको छ ।

बीमा गरेपछि बीमा कम्पनीले आफ्नो जोखिम बहन गरिदिन्छ, बीमा गरेको आफंै लागि भन्ने कुरा अझै आममानिसले बुझ्न सकेका छैनन् । अझ यो मोटर बीमामा मान्छेले के सोच्या हुन्छन भने बीमा आफ्नो लागि भन्दा पनि बैंकको लागि गरिएको भन्ने खराब सोचाई हुन्छ । बैंकमा ऋण लिएर गाडी किनेको मान्छेले किस्ता तिर्दासम्म बीमा गरेको हुन्छ । तर, जब उसले बैंकको कर्जा चुक्ता गरिसक्छ अनि बीमा गर्नुपर्छ भन्ने कुरा बिर्सन्छ । कर्जा तिरिसके पछि पनि रिक्स त हुन्छ, बीमा गर्नुपर्छ भन्ने कुरा मान्छेको मानसिकतामा आउँदैन ।

सबै बैंकका कर्जा शाखामा बस्नु भएका साथीहरुलाई फूल भ्यालूको बीमा गनु पर्छ भन्ने कुरा बुझाउन सक्यौ भने मात्रै पनि हाम्रो ३० प्रतिशत विजनेस बढ्छ । ५ करोड रुपैयाँको घर राखेर कुनै एउटा व्यक्तिले मानौ २० लाख रुपैयाँ कर्जा लिन्छ । त्यो मान्छेको घर ५ करोडको भए पनि कर्जा लिएको २० लाख रुपैयाँको मात्रै बीमा गर्ने प्रचलन छ । घरको भ्यालू अनुसारको बीमा गर्ने हो भने विजनेस राम्रोसँग बढ्ने थियो ।

भूकम्पपछि निर्जीवन बीमाप्रति आकर्षण बढेको हो ?
भूकम्पपछि धेरैले बीमा गर्नुपर्ने रहेछ भन्ने सोचे । भूकम्प गएको केही समयसम्म त आकर्षण राम्रै देखियो । त्यतिबेला हामीलाई फोन पनि धेरै आएको हो । तर, जब भूकम्प गएको समय लम्बिदै गयो, बीमा गर्नुपर्छ भन्ने कुरा पनि मान्छेले बिर्सिदै गए । भूकम्प गएपछि बीमा गर्नै पर्छ भन्ने सोचेका मान्छे पनि यतिबेला चुपचाप छन् ।

बीमा दाबी भुक्तानीमा बीमा कम्पनीले ढिलाइ गर्छन् भन्ने जनगुनासो बेला बखतमा आइरहन्छ, वास्तवमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारण के हो ?
एकदमै सही प्रश्न गर्नुभयो । यो निकै चर्चामा आएको विषय पनि हो । मैले अघि पनि भनिसके अबको बीमा बजार भनेको क्लेम अर्थात दाब्ीमा भर पर्नुपर्ने हुन्छ । दाबी जसले सहज र छिटो तरिकाले भुक्तानी दिन सक्छ उसलाई विजनेसको खाँचो हुँदैन । मैले मेरो कम्पनी राम्रो छ भनेर भन्दै हिड्नु भन्दा एउटा कुनै मान्छेले त्यो कम्पनी चाहिँ राम्रो छ भुक्तानी सहज र छिटो तरिकाले दिन्छ भन्नुमा निकै फरक हुन्छ । यस कारण पनि कुनै कम्पनीले दावी भुक्तानीमा ढिलाई गर्छन भन्ने लाग्दैन । १० हजार रुपैयाँको दावी भुक्तानी दिन ढिलाई गर्दा १० लाखको विजनेस गुम्न सक्छ ।

ढिलाइका सन्दर्भमा भन्नु पर्दा नियम प्रक्रिया पुग्न नसकेर कहिले काही ढिलाई हुनसक्छ तर त्यो प्रक्रियालाई ढिलाई भन्न मिल्दैन । कानुनी प्रक्रिया त पूरा गर्नु पर्यो नि । कानुनी प्रक्रिया बाहेकका कुरामा भुक्तानी दिन बीमा कम्पनीले ढिलाई गर्दैनन् यदि कसैले गरिहाले पनि उनीहरुकै बद्नाम हुन्छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रोडक्टहरु के–कस्ता छन् ?
नेपालमा गरिँदै आएका निर्जीवबन बीमा सबै गर्छौ । अन्य बीमा कम्पनीहरुका जे–जे प्रोडक्टहरु छन् ति भन्दा हाम्रो कम छैनन् । बरु केहि त्यस्ता प्रोडक्टहरु छन् जो अन्य बीमा कम्पनीमा छैनन् । जस्तो एभिएसन भन्ने प्रोडक्ट युनाइटेड सहित केही सीमित कम्पनीहरुमा मात्रै छन् ।

युनाइटेडलाई अझ सक्षम बनाउन आगमी आर्थिक वर्षको प्लानिङ कस्तो छ ?
बोर्डको अपेक्षा ठूलो छ, केही समय अघि ठूलो संख्यामा कर्मचारी अर्को संस्थामा गए । नयाँ बीमा कम्पनीहरु थपिएकाले हाम्रो संस्थामा काम गरिरहेका धेरै साथीहरु नयाँ कम्पनीमा जानु भयो । फेरि बीमा कम्पनीमा काम गर्नका लागि पुराना कर्मचारीहरुको धेरै आवश्यकता पर्दछ । अधिकांश शाखामा बीमा बुझेको मान्छे नै चाहिन्छ । बीमाको दायरा बढाउन आफ्नो तर्फबाट जेजति सकिन्छ सोही अनुसारको का मगर्दै जानेछौं ।

शाखा सञ्जालको अवस्था के छ ?
हाम्रो शाखा सञ्जालहरु अहिले २९ वटा रहेका छन् । आगामी आर्थिक वर्षमा ति शाखाहरुलाई अपग्रेड गर्दै लैजाने योजना बनाएका छौं । त्यसका अलवा आवश्यकता अनुसार केहि शाखा थप्ने समेत सोचका छौं ।

बीमा कम्पनीहरुका लागि चुनौतीहरु के–के छन् ?
सबैभन्दा ठूलो चुनौती भनेको फर्जी दाबी हो । यहाँ कल्पना नै गर्न नसकिने गलत दाबी समेत गर्ने गरेको पाइन्छ । सवारी दुर्घटना हुन्छ अनि हत्त न पत्त बीमा गरेर अनि यहाँ दुर्घटना भयो भनेर क्लेम गर्ने चलन छ । बीमा गर्नुपर्छ भन्ने दुर्घटना हुनुभन्दा अगाडि मतलब हुँदैन जब दुर्घटना हुन्छ अनि बीमा गर्न दौडियो, अन्य फर्जी दाबीहरु भेटिने गरेका छन् ।

एकपटक त फर्जी क्लेम गर्ने पक्राउ पनि परेका थिए । बिहान १० बजे दुर्घटना भए पछि दिउँसो १ बजे बीमा गरेछ र ३ बजे फेरि दाबी गर्न आएछ । दुर्घटनाका बारेमा प्रहरीले तयार पारेको मुचुल्काबाट त त्यो प्रमाणित भयो र पक्राउ पर्यो ।

अर्को फर्जी मेडिकलको बिलमा पनि हुन्छ । कतिपय बिलमा त बिरामीले प्रयोग गर्नै नमिल्ने औषधि समेतको रकम जोडेको हुन्छ । हामीलाई त्यो औषधिको बारेमा टम्र्स एन्ड कन्डिसन त थाहा हुँदैन । तर, त्यस्तो बेलामा हामीले डाक्टर समेत बोलाउने गरेका छौ । फर्जी दाबी हामीलाई ठूलो चुनौती रहेको छ ।

बीमा कम्पनीले बीमा गरेको कागज दिने तर बीमा नगर्ने या भनौ रेकर्ड नराख्ने गरेका घटना पनि सुनिँदै आएको छ नि ?
निर्जीवन बीमा कम्पनीमा यस्तो हुँदैन । केही समय अघि यस्तो घटना बाहिर आएको थियो । तर, त्यो घटना जीवन बीमा कम्पनीको थियो । अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा त्यस किसिमका फल्टहरु आएका छैनन होला । म्यादी पोलिसीको विषयमा केही समस्या देखिने गरेका छन् । म्यादी पोलिसीमा कभर नोट काटेर बीमा गरिन्छ, र बेलुका कतिबेला हुन्छ फुर्सद त्यसपछि आएर इन्ट्री गर्नुपर्ने हुन्छ । हो त्यो इन्ट्री गर्न बिर्सिएपछि तपाईले भनेको जस्तो समस्या सिर्जना हुन्छ ।

बीमा कम्पनीहरुको संख्या अधिक भयो भन्ने टिप्पणी शुरु भइसकेको छ, भोलिका दिनमा बीमा कम्पनीहरुका लागि समेत मर्जर नीति ल्याउनुपर्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
सबैभन्दा ठूलो कुरा समय हो । हामी सबै समयअनुसार चल्नुपर्ने हुन्छ, भोलि कस्तो समय आउँछ भन्न सकिन्न । मर्जरको विषयमा अहिले तिमीहरु मर्जरमा जाउँ भन्दा जान सजिलो छैन । बीमा कम्पनीबीच एकआपसमा इगो छ । भोलिका दिनमा भने मर्जर हुन सक्छन् । अर्को कुरा अहिले बीमा कम्पनीहरुमा क्रस होल्डिङ छ । यदि बीमा समितिले क्रस होल्डिङ बन्द गर्ने नीति ल्यायो भने बीमा कम्पनीहरु आफै मर्जरमा जान्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया