जर्मनी नकआउट चरणमा पुग्न यी कुराहरु गर्नैपर्ने


आर्थिकन्यूज

एजेन्सी, असार १३ । रसियामा जारी विश्वकप फुटबलको समूह एफ बाट नकआउट चरण प्रवेश गर्ने टोलीको टुंगो आज लाग्दैछ । विश्वकपको नकआउट चरणमा प्रवेश गर्नका लागि जर्मनीले दक्षिण कोरियालाई पराजित गर्नैपर्ने हुन्छ ।

आज दक्षिण कोरिया र जर्मनीको खेल रसियाको कजान एरिनामा नेपाली समयअनुसार राति ७ बजेर ४५ मिनेटमा हुनेछ ।
यसअघि समूह चरणमा जर्मनीले १ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ३ अंक बनाएको छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा भने जर्मनीले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

यता, दक्षिण कोरिया भने आफुले खेलेको २ वटै खेलमा पराजित भएको छ । दक्षिण कोरिया पहिलो खेलमा स्वीडेनसँग १–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा पनि मेक्सिकोसँग दक्षिण कोरिया २–१ गोलअन्तरले पराजित भएको थियो । दक्षिण कोरिया र जर्मनी अहिलेसम्म ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । जुन खेलमा जर्मनीले २ पटक जितेको छ भने दक्षिण कोरियाले एक खेल जितेको छ ।

जर्मनीले दक्षिण कोरियालाई पराजित गर्न सक्ला त ?
जर्मनीको जुन स्तरको खेल हुनु पर्ने हो त्यो अहिले भइरहेको छैन । बलियो टिम भएपनि जर्मनीले जारी विश्वकपको अघिल्लो दुई खेलमा सोचेअनुरुपको प्रदर्शन छैन । पहिलो खेलमा नै मेक्सिकोसँग १–० गोलको अविश्वासनीय हार ब्यहोरेको जर्मनीले दोस्रो खेलमा भने स्वीडेनमाथि अन्तिम समयमा गोल गर्दै कठिन जित निकाल्न सफल भएको थियो ।

जर्मनीका मुख्य एक खेलाडीले दक्षिण कोरिया विरुद्धको खेल गुमाउँदै छन् । डिफेन्डर जेरोमी बोटेङले स्वीडेनविरुद्ध ८० औं मिनेटमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले दक्षिण कोरिया विरुद्धको खेल गुमाउँदै छन् । जर्मनीको डिफेन्स लाइन सम्हाल्ने मुख्य खेलाडी बोटेङको अभाव दक्षिण कोरियाविरुद्धको खेलमा हुन सक्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया