मौद्रिक नीतिपछि बैंकहरूको प्लान बन्छ


आर्थिकन्यूज

लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय तुलसीराम गौतम अहिले सेञ्चुरी कर्मिसियल बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । सरकारले दुई साता अघि ल्याएको आगामी आर्थिक वर्षको बजेट तथा नेपाल राष्ट्र बैंकले ल्याउने तयारीमा रहेको मौद्रिक नीतिलगायत सेञ्चुर बैंकको आगामी योजनाका विषयमा आर्थिकन्युजका लागि रोयल आचार्यले गरेको कुराकानी ः

एउटा बैंकरको नजरबाट आगामी आर्थिक वर्षको बजेटलाई कसरी लिनु भएको छ ?
हामीले बजेटभन्दा पनि मौद्रिक नीतितर्फ ध्यान दिनुपर्छ । बजेटमा धेरै कुरा समेटिन नसकेका मौद्रिक नीतिमा समेटिन्छन् । बजेटमा धेरै राम्रा कुरा समेटिएका छन्, कतिपय छुटेका पनि छन् । बजेटले पूरा गर्न नसकेको कुरा मौद्रिक नीतिले पूरा गर्छ भन्ने विश्वास लिएको छु । अहिले बजेटको विषयमा भन्नु भन्दा पनि मौद्रिक नीति पछि बोल्न राम्रो होला । जस्तो बजेटले शैक्षिक कर्जा दिने विषयलाई समेटेको छ । अब त्यो विषयलाई कार्यान्वयन कसरी गर्ने भन्ने कुरा मौद्रिक नीतिमा आउँछ ।

बजेटले सबै नेपालीको बैंक खाता भन्ने लक्ष्य लिएको छ, मुलुकमा वित्तीय पहुँचको अवस्था ५० प्रतिशत पनि पुग्न नसकेको अवस्थामा यो सम्भव होला ?
सम्भव नै हुँदैन भन्ने कुरा छैन । बजेटको लक्ष्य प्राप्तिका लागि प्रयास गर्नुपर्छ । प्रयास गरेपछि असम्भव भन्ने कुरा हुँदैन । एक वर्षमै सम्भव नहोला तर प्रयास गरेपछि ढिलै भए पनि पूरा हुन्छ । वित्तीय पहुँचको आवश्यकता धेरै छ । भू–बनोटका कारण पनि धेरै समस्या देखिएका छन् । कुनै ठाउँमा डाँडापारी एउटा÷दुईवटा मात्रै घर भएको त्यस्तो स्थान पनि हुनसक्छ, त्यस्तो ठाउँमा चाहिँ बैंक पुग्न गाह्रो होला अनि उनीहरुले खाता पनि नखोल्लान् । नत्र सहज ठाउँमा त चाँडै भइहाल्छ ।

बजेटमा समेटिएको शैक्षिक कर्जाको विषय यतिबेला चर्चामा छ, शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिनु कत्तिको सहज होला ?
शैक्षिक कर्जा बजेटमा समेटिएको छ । तर, के कसरी दिने भन्ने कुरा आइसकेको छैन । जहाँसम्म मलाई लाग्छ अबको मौद्रिक नीतिमा यो कुरा समेटिनेछ । शैक्षिक कर्जा कार्यविधि बनेपछि त्यो कार्यविधि अनुसार कर्जा दिन सहज हुन्छ कि असहज हुन्छ भन्ने कुरा थाहा हुन्छ । शैक्षिक कर्जा भने पनि रोजगारी सिर्जना गर्ने कुरा आयो । बैंकहरु रोजगारी सिर्जना गर्नका लागि सरकारलाई सपोर्ट गर्न तत्पर छौं ।

शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिँदा समस्या पनि त आउन सक्लान नि ?
मैले अघि पनि भनिसके शैक्षिक कर्जा कुन तरिकाले दिने भन्ने विषयमा मोडालिटी बन्न बाँकी छ । मोडालिटी बनेपछि थप सहज हुन्छ । अर्को कुरा सरकारले यो योजना ल्याउन खोज्नुको कारण नै रोजगारी बढाउन हो । यसका लागि बैंक सकरात्मक छ । अर्को कुरा रोजगारी सिर्जना गर्ने सन्दर्भमा पढेकालाई मात्रै भन्ने हुँदैन । पढेकाले त शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिन्छन नपढेकाले के गर्ने भन्ने प्रश्न चिन्ह खडा हुन्छ ? तर हामी बैंकहरु स्वरोगार सिर्जना गर्नका लागि आवश्यक सहयोग गर्न तयार छौं ।

शिक्षित बेरोजगारले त प्रमाणपत्र धितोमा राखेर उद्यमी बन्न कर्जा पाउने भए, अब अध्ययन कम गरेका युवालाई उद्यमी चाहिँ कसरी बनाउने ?
बजेटमा सरकारले शैक्षिक कर्जा दिने कुरा उल्लेख गरेको छ, त्यो पढेकालाई मात्रै हो । तपार्इंले भने जस्तै नपढेकालाई नदिने त ? यो कुरा हुँदैन । नपढेकालाई दिने त पहिले नै व्यवस्था छ । अहिले चार वर्गका बैंक तथा वित्तीय संस्थाहरु छन् । सबै वर्गका बैंक तथा वित्तीय संस्थाले अहिले पनि लगानी गरिरहेका छन् । जो उद्यमी बन्न चाहान्छ उसलाई सानो परिमाणको कर्जा दिन कुनै समस्या भएन । उद्यमी बन्न चाहानेका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गरिरहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को लागि मौद्रिक नीति छिट्टै सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको बुझिएको छ, तपाईको विचारमा आगामी आवको मौद्रिक नीति कस्तो आउनु पर्छ ?
मौद्रिक नीति कस्तो ल्याउदा राम्रो हुन्छ । मौद्रिक नीतिमा के–के कुरा समेट्न सके बजेट कार्यान्यनमा सहज हुन्छ भन्ने कुरा नेपाल राष्ट्र बैंकले सोच्ने हो । बैंकिङ क्षेत्रमा प्रविधिको विकास भएको छ । केही रिक्स पनि बढेको छ । यस्ता कुरामा राष्ट्र बैंकले ध्यान दिँदा राम्रो हुन्छ । अर्को महत्वपूर्ण के छ भने हिजो भूकम्प जाँदाको समय तथा अन्य समयमा विभिन्न समस्या सिर्जना भएका थिए । विगतको समस्याबाट पाठ सिकेर कुनै पनि समस्या आए कसरी समाधान गर्ने भन्ने विषयमा पनि राष्ट्र बैंकले ध्यान दिएर सोहीअनुसार मौद्रिक नीति आए उत्तम हुन्छ ।

बैंकहरु एकैचोटी चार गुणा पुँजी वृद्धि गरेर भर्खर तंग्रिदै गरेको अवस्था छ, कतिपयले त अझै पुँजी पुर्याइसकेका छैनन् । यस्तो अवस्थामा फेरि केन्द्रीय बैंकले पुँजी वृद्धिको योजना ल्याउँछ भन्ने चर्चा छ, यस विषयमा यहाँको धारणा के छ ?
कति पुँजी चाहिन्छ भन्ने कुरा राष्ट्र बैंकले बुझेको छ । ८ अर्ब पुँजी पर्याप्त छ वा १२ अर्ब, १८ अर्ब पुँजी चाहिन्छ म भन्न सक्दिन । राष्ट्र बैंकको पुँजी वृद्धिको योजनाले धेरै बैंक तथा वित्तीय संस्था मर्जरमा गएका छन् ।
८ अर्ब पुँजी पनि त्यति सहज तरिकाले पुगेको होइन । हामीले पनि ४/५ वटा संस्था मर्जर गर्यो । बाहिर हेर्दा मिल्यो भन्ने कुरा हुन्छ, सबै शाखामा सेञ्चुरीको बोर्डहरु बसिसक्यो । त, टेक्निकल कुरा अझै मिल्न बाँकी छ । यसकारण केही समस्या उत्पन्न हुन सक्छन् । मेरो विचारमा तत्कालै पुँजी वृद्धि बढाउनु उपर्युक्त नहोला । केही समयपछि भनेको पुँजी बढाउँदा फरक नपर्ला ।

२० अर्ब पुँजी भएको इन्फ्राइस्ट्रक्चर बैंकलाई सञ्चालनमा आउँदैछ, त्योसँग प्रतिस्पर्धा गर्न वाणिज्य बैंक सक्षम हुनु पर्दैन ?
प्रतिस्पर्धी चाहिन्छ नै भन्ने कुरा हुँदैन । यो पूर्वाधार विकास बैंकको पुँजी जति भयो वाणिज्य बैंकको सोहीअनुसार हुनुपर्ने भन्ने छैन ।

राष्ट्र बैंकले बैंकको संख्या घटाउनकै लागि पुँजी वृद्धिको योजना ल्याएको थियो । ‘ख’ र ‘ग’ वर्गका बैंक, वित्तको संख्या घटे पनि ‘क’ वर्गका बैंकहरुको संख्या घटेन । यतिबेला बिग मर्जरको कुरा पनि चलिरहेको छ, यस विषयमा तपाईको धारणा के छ ?
मर्जर भन्ने बित्तिकै त्यति सहज तरिकाले लिनु हुँदैन । मर्जर सजिलै हुने कुरा पनि होइन । मर्जर गर्नका लागि विभिन्न कुरा मिलाउनुपर्ने हुन्छ । बिग मर्जर आउँछ कि आउँदैन भन्ने कुरा पनि थाहा छैन । यसर्थ, यस विषयमा धेरै बोल्नु उपर्युक्त पनि नहोला ।

अब सेञ्चुरी बैंककै कुरा गरौं, वर्तमान अवस्थामा सेञ्चुरी कमर्सियल बैंकको वित्तीय अवस्था कस्तो छ ?
अहिले हाम्रो कर्जा लगानी ५३ अर्ब छ भने निक्षेप संकलन ५६ अर्बभन्दा बढी छ । चैत मसान्तसम्मको वित्तीय विवरण हेर्ने हो भने पनि मूनाफा पनि एकदम राम्रो छ । एनपीए प्वाइन्ट ७५ छ । शाखा सञ्जालहरु ११२ वटा छन् । अन्य १०÷१२ स्थानमा थप नयाँ शाखा खोल्ने तयारी गरिरहेका छौं ।

स्थानीय तहमा शाखा खोल्न बैंकहरूलाई भाग लगाइएको थियो, आफ्नो भागमा परेका स्थानीय तहमा सेञ्चुरीले शाखा खोल्यो ?
हामीलाई शाखा खोल्न लिस्ट नै आएको थियो । सोहीअनुसार हामीले शाखा सञ्जाल विस्तार गरेका हांै । हाम्रो भागमा परेको अधिकांश स्थानीय तहमा शाखा खोलिसकेका छौं । बाँकी रहेका स्थानीय तहमा पनि हामी क्रमशः खोल्दै छौं ।

थप शाखा विस्तारको तयारी के छ ?
अहिले हामी आगामी आर्थिक वर्षका लागि कसरी अघि बढ्ने भन्ने विषयमा प्लानिङ गरिरहेका छौं । अब मौद्रिक नीति पनि आउनै लागेको छ । मौद्रिक नीति कस्तो आउँछ भनेर अहिले प्रतीक्षामा छौं । भोलि ठूलो बैंकसँग मर्जर गर भन्यो भने शाखा विस्तार गर्ने कुरा हुँदैन । मौद्रिक नीति आएपछि शाखा विस्तार कुन ढंगले गर्ने भन्ने प्लान बनाउछौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया