भारतीयबाट खोसेर चिनियाँको हातमा हाइड्रोको लाइलेन्स पुर्याएको बीपीसीले हजार मेगावाट बनाउला ?


आर्थिकन्यूज

काठमाडौं, असार ४ । विवादास्पद भारतीय कम्पनी जीएमआरले अलपत्र छाडेर लामो समयसम्म काम नगरेको माथिल्लो मस्र्याङ्दीलगायतका आयोजना निर्माणका लागि चीनको सिचुवान इलेक्ट्रिसिटीसँग सम्झौता गरिने भएको छ ।

बुटवल पावरले केही समय पहिलो सो आयोजना चिनियाँ लगानीकर्ताको समेत सहयोगमा भारतीय कम्पनी जीएमआरसँग खरिद गरेको थियो ।

प्रधानमन्त्रीको असार ५ गतेदेखि हुन लागेको चीन भ्रमणको क्रममा सो विषयमा सम्झौता गर्ने तयारी गरिएको छ ।

माथिल्लो मस्र्याङ्दीलगायत दुई जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हिमताल हाइड्रोपावर कम्पनी प्रालिले सबै शेयर बुटवल पावर र चिनियाँ साझेदारलाई बिक्री गरिएको छ । हिमतालमा अधिकांश शेयर भारतीय कम्पनी जीएमआरको रहेको थियो ।

हिमतालको सबै शेयर बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीले खरिद गरेका थिए । हिमतालमा बुटवल पावर कम्पनीको करिब २० प्रतिशत शेयर प्रतिशत रहेको छ ।

बाँकी शेयर तीन चिनियाँ कम्पनीको छ । बुटवल पावर कमपनी, चिनियाँ कम्पनी एससीआईसी इन्टरनेसनल लिमिटेड, जिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूवाईईसीको शेयर लगानी रहने सो आयोजनाको प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सम्झौता गर्ने तयारी गरिएको छ ।

बुटवल पावर कम्पनीले शेयर किचबेचबारे नेपाल धितोपत्र बोर्डलाई यसअघि नै जानकारी गराइसकेको छ । कुल ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी बनाउन जीएमआर र विश्व बैंक समूहअन्तर्गको अन्तर्राष्ट्रिय वित्त नियोगबीच आयोजना विकास सम्झौता पनि भएको थियो । तर, माथिल्लो कर्णाली नै निर्माण गर्न नसकेको जीएमआरले माथिल्लो मस्र्याङ्दी आयोजना छाडेर हिडेको हो ।

लमजुङ र मनाङमा पर्ने आयोजनामा ४ युनिटबाट ६ सय मेगावाट विद्युत् निकाल्ने योजना थियो । आयोजनाका लागि १ खर्ब लगानी लाग्ने अनुमान थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको थियो । तर, भारतीय कम्पनीले आयोजना छाडे पनि चिनियाँ लगानीकर्ता बुटवल पावरको फेरो समातेर भित्रिएका छन् ।

मस्र्याङ्दी नदीमा बन्ने २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी आयोजना पनि चिनियाँ कम्पनीले निर्माण गर्नेछ । सो आयोजनाको समेत प्रधानमन्त्रीको भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ । पछिल्लोपटक जीएमआरले माथिल्लो मस्र्याङ्दी बुटवल पावरको ज्वाइन्ट भेन्चरलाई बेचेर भाग्नुको पछाडि पनि चरम आर्थिक संकट नै प्रमुख कारणको रुपमा रहेको देखिएको छ । यद्यपि, भारतीय कम्पनी जीएमआरले भने सो विषयमा केही बताउन चाहेको छैन ।

बुटबल पावर र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरी माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ ।
सो कम्पनीले करिब ९०० मेगावाट क्षमताका दुई महत्वपूर्ण आयोजना निर्माण गर्ने बताएका छन् ।

एसीआईजी इन्टरनेसनलले भारतको जीएमआर इनर्जी लिमिटेडको ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र राजरत्न इनर्जी होल्डिङस प्राइभेट लिमिटेड र नेपाली मनाङ मस्र्याङ्दी पावर कम्पनीको स्वामित्वमा रहेको २८२ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको सबै स्वामित्व खरिद गरेको थियो ।

बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले समेत ती आयोजना बुटवल पावरको स्वामित्व रहेको एसीआईजीको स्वामित्वमा आएको बताएका थिए । उनले चीन भ्रमणमा सम्झौता गर्ने तयारी भएको बताएका छन् ।
३ वटा चिनियाँ र बीपीसीको साझेदारीमा नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना गरिएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया