पहिलो दिनको विश्वकप, आयोजकले ५ गोल गर्दा प्रतिपक्ष शून्य


आर्थिकन्यूज

काठमाडौं, असार १ । विश्वकप सन् २०१८ को उद्घाटनसँगै भएको पहिलो खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेवियालाई फराकिले अन्तरले पराजित गरेको छ । विश्वकप फुटबलमा आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० ले पराजित गरेको हो ।

राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रुसले १२ औं मिनेटमा अग्रता लियो । युरी गाजिन्सकीले एलेक्जेन्डर गोलोभिनको क्रसको सदुपयोग गर्दै हेडर गोलमार्फत घरेलु टोलीलाई अगाडि बढाएका थिए ।

पहिलो हाफको अन्त्यतिर डेनिस चेरेसेभले रुसको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका चेरेसेभले डिफेन्सलाई पेनाल्टी क्षेत्रभित्र छलाउँदै उत्कृष्ट गोल गरेका थिए । २३ औं मिनेटमा एलन जागोएभको तिघ्रामा चोट लागेपछि उनी मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा पनि रुसले पहिलो हाफको लयलाई कायम राख्दै साउदीमाथि दबाब कायम राख्यो । रुसको अग्रता बढाउन फेरिपनि अर्का वैकल्पिक खेलाडीले गोल गरे ।

फरवार्ड आर्टेम ज्युबाले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरे । युवा गोलोभिनकै क्रसमा उनले हेडर गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा चेरेसेभले रसियाको लागि चौथो गोल गर्दा गोलोभिनले उत्कृष्ट प्रदर्शनको अन्त्य गोलसँगै गरे । गोलोभिनले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया