‘नालापानी’को लडाँई दाङमा


आर्थिकन्यूज

काठमाडाैं, जेठ ३१ । ऐतिहासिक कथाबस्तुमा आधारित चलचित्र ‘नालापानी’को केही समय अघिदखी राजधानीका विभिन्न स्थानहरुमा पहिलो चरणको छायांकन सक्किएर दाङ तर्फ लागेका छन् । काठमाडौमा नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा यो चलचित्रको छायाँकन गरिएको छ । जहाँ कलाकारहरुले अंग्रेजहरुमाथि जाइलागेको सिन छायांकन गरिएको थियो ।

छायाँकनका क्रममा नेपाली सिनेमाका तीन सय भन्दा बढी सैनिकहरु नेपाली र बेलायती सैनिकको भूमिकामा अभिनयरत देखियो । यसै क्रममा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य सो क्रममा खिचियो । जसका लागि नेपाल आर्मीको पचास ओटा घोडा सहित तीन सय हतियार सहितका फौज मैदानमा उत्रिए । सो दृष्यको छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको निर्देशक रिमेश अधिकारीले जानकारी गराए । अब यसपछि नेपाली र अँग्रेजी सेनाबीचको युद्ध खिच्नको लागि टोली उपरदाङ्ग तर्फ लागेका हुन् ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । चलचित्रका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको चलचित्रलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे । काठमाडौ र आसपासमा पहिलो चरणको छायांकन सकिएपछि चलचित्र यूनिट उपरदाङ तर्फ हिडेका हुन् ।
उपरदाङ गढीमा चलचित्रका कलाकार हातमा तलवार लिएर क्यामरा अगाडि अंग्रेजहरुमाथि आक्रमण गरिरहेका छन् । चलचित्रको कथा अनुसार नै उनीहरु अभिनयमा उत्रिएका हुन् । केहीदिन यता उपरदाङ गढीमा छायांकन भइरहेको र यहाँको छायांकन समाप्तिसँगै निर्माण टोली काठमाडौं फर्किनेछ ।

बाँकी रहेको केही सिनहरु पुनः राजधानीमा छायांकन गरेपछि चलचित्रको सम्पूर्ण छायांकन समाप्त हुने निर्माण पक्षले जनाएको छ । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ ।

उपरदाङ्ग गढी चितवनको पुरानो सदरमुकाम हो । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ । गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।

‘नालापानी’को छायांकन उपरदाङ गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले यहि स्थान रोजेको निर्माता मनोज शाक्यले बताए । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीमसँगै रहेर काम गरिरहेका छन् । निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए ।

‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्ध नेपालले युद्ध लडेको थियो ।

आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो । त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो । कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो ।

अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो । यसै प्रशंगमा रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर चलचित्र ‘नालापानी’ बनिरहेको छ ।

यस चलचित्रमा मजोन शाक्य र नितिशा शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

यो चलचित्रको बजेट करिब ९ करोड लाग्ने बताईएको छ । ‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्टलगायतका कलाकारहरुको अभिनय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया