सभामुख र उपसभामुखको विषयमा संसदमा जुहारी


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । सभामुख र उपसभामुख छुट्टा छुट्टै हुनु पर्ने प्रावधान भएकोले तात्कालीन नेकपा (एमाले) र नेकपा (माअ‍ेवादी–केन्द्र)बीच पार्टी एकता भएपश्चात् सोही पार्टीको सभामुख र उपसभामुख रहन्छ वा रहँदैन ? भन्ने प्रश्न शंसदमा उठेको छ । पार्टीको सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषय संदमा प्रवेश गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच घमासान दोहोरी चलेको छ ।

तत्कालीन माओवादीबाट निर्वा्चित बनेका सभामुख कृष्णबहादुर महरा र तत्कालिन एमालेबाट निर्वा्चित उपसभामुख शिवमाया तुम्बाहम्फेमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग कांग्रेसले संसदमा राखेको छ भने नेकपाले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको जवाफ दिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुरुमै विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान र कानुनी व्यवस्था कार्यन्वयन गर्नका लागि सभामुख वा उपसभामुखमध्ये एक अलग पार्टीको हुनुपर्ने बताए । उनले सभामुख र उपसभामुख भइसकेपछि राजीनामा दिए पनि त्यो दलत्याग नमानिने कानुनी व्यवस्थासमेत स्मरण गराए ।

खाँडले संसदमा भनेः– सभामुख उपसभामुखको पदीय जिम्मेवारी सम्हाल्ने उद्देश्यका साथ यदि दल परित्याग गरियो भने दल परित्याग गरेको नमानिने राजनीतिक दल सम्बन्धी ऐनमै व्यवस्था छ । सभामुख र उपसभामुख महोदयको भूमिकालाई म उच्च कदर गर्दै कानुनी व्यवस्था कार्यन्वयन गर्न आग्रह गर्दछु ।

खाँडले सभामुख र वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने आशयको अभिव्यक्ति दिइरहेकै बेला नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गरेका थिए । खाँडले बोलिसकेपछि सभामुखले अधिकारीलाई समय दिए । नेकपा सांसद अधिकारीले सभामुख र उपसभामुख अहिले कुनै पनि दलसँग सम्बन्धित नभएकाले यो कुरा बारम्बार उठाउनुको अर्थ नरहेको बताए । उनले उपसभामुखमा चुनाव हारेकी कांग्रेस सांसद पुष्पा भुसालले समेत राजीनामा मागेको भन्दै पराजित मानसिकता नदेखाउन चुनौती दिए ।

अधिकारीले भने – सभामुख र उपसभामुख अहिले कुनै पनि दलमा आवद्ध हुनुहुन्न । बारम्बार उठाइरहँदा संसदको माखौल उडाउने काम भएको छ । यस्तो कुरा बन्द गरियोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया