घरेलु ठेकेदारलाई मात्रै न्याक्ने सरकारले देशलाई टाट पल्टाउन लागेका चिनियाँ ठेकेदार किन देख्दैन ?


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता चीन भ्रमणमा जान लागेका छन् । उनले भ्रमणका क्रममा विभिन्न एजेन्डा तयार भएको पनि बताएका छन् । भौतिक पूर्वाधारको विकास, रेलमार्ग, सडकमार्ग, हवाई तथा नागरिक उड्डयनको क्षेत्रमा भ्रमणको क्रममा महत्वपूर्ण छलफल गर्ने र सम्झौताको समेत तयारी गरिएको बताइएको छ ।

इतिहासका पाना पल्टाएर हेर्ने हो भने चिनियाँ निर्माण व्यवसायीले नेपालमा लो बिडिङ गर्ने र काम नगर्ने प्रवृत्ति हावी भएको छ । विशेषगरी चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, ढल्केबर सब–स्टेशन तथा अन्य विभिन्न परियोजनासमेत चिनियाँ ठेकेदारको बदमासीका कारण प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

काठमाडौं चक्रपथ विस्तार आयोजनाअन्तर्गत रहेको कोटेश्वर–कलंकी सडक खण्डसमेत चिनियाँ ठेकेदारले विविभन्न बाहना बनाएर दुई वर्षमा सकिनुपर्ने कामलाई पाँच वर्ष लगाएका छन् ।
चिनियाँ ठेकेदार सीजीजीसीले ९० प्रतिशत निर्माण कार्य गरेर अनेकन बाहाना निकालेपछि ढल्केबर सब–स्टेशनको काम अगाडि बढ्न सकेन । सो आयोजना गत मंसिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर, ठेकेदारकै कारण सो आयोजनाको लागत र समय समेत बढ्न जाँदा समस्या परेको छ ।

चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार गेजुवाले समयमा काम नर्गदा आयोजना १२ वर्ष लाग्यो सकिनमात्रै । आयोजनाको लागत बढेर प्रतिमेगावाट ५६ करोड समेत पुग्यो । त्यसमा नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीलाई चिनियाँ ठेकेदारले प्रभावमा पारेर लागत बढाएका मात्रै थिएनन्, परियोजना असाध्यै महँगो बनाउनसमेत लागिपरेका थिए । माथिल्लो त्रिशूली थ्री ‘ए’ को क्षमता बढाउने विषयमा समेत चिनियाँ ठेकेदारको राम्रै चलेखल भएको थियो । कारण जे जस्तो सुकै भए पनि आयोजनाको लागत र समय बढ्न गएको छ ।

आयोजना ६० मेगावाटबाट ९० मेगावाट बनाउने, कसरी बनाउने र किन बनाउने भन्दै ठेकेदारले ठूलै चलखेल मात्रै गरेनन् आयोजनाको लागत समेत बढाउनुपर्ने अवस्थामा पुयाईदिए । अझै पनि सो आयोजना आगामी एक वर्षभित्र सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

यस्तै भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणमा समेत चिनियाँ ठेकेदारले काम नगरी अलपत्र पारेको छ । सो आयोजना हाल करिब–करिब अलपत्र अवस्थामा रहेको छ । आयोजनाको काम अलपत्र पर्नुमा प्राधिकरणभन्दा पनि ठेकेदारको बदमासी नै प्रमुख देखिएको छ ।

यस्तै प्राधिकरणका लागि भालूको कम्पट बनेको कुलेखानी तेस्रो आयोजनाको लागत समेत बढेर पाँच अर्ब पुगेको छ । १४ मेगावाट क्षमताको सो परियोजना चीनको झियालिङ कम्पनीले निर्माणको जिम्मा लिएको हो । तर, विगत सात वर्षदेखि आयोजना अगाडि पनि नबढ्ने अवस्थामा अलपत्र रहेको छ ।

निर्माणमा रहेका ४५ वटा प्रसारणलाइनको अवस्था पनि उस्तै रहेको छ । अधिकांश आयोजनाको ठेकेदार चिनियाँ कम्पनी नै रहेका छन् । उनीहरुले समयमा काम नगर्ने र दुःख दिने नियतमात्रै राखेका छन् । जग्गा विवाद देखाएर गर्न सक्ने स्थानमा समेत काम नगरिकन चिनियाँ ठेकेदार बसेका छन् । लो बिडिङ गर्ने र काम नगर्ने प्रवृत्ति चिनियाँ ठेकेदारको देखिएको छ ।

पश्चिम सेती परियोजनासमेत चिनियाँ कम्पनी थ्री गर्जेजले विगत ६ वर्षदेखि अलपत्र पारेको छ । न त आयोजना बनाउने अवस्थामा चिनियाँ कम्पनी देखिएको छ, न त छोडेर जाने अवस्थामा नै रहेको छ । उता नेपाल वायु सेवा निगमले ल्याएको ६ वटा चिनियाँ जहाजको हालत पनि उस्तै रहेको छ । चिनियाँ जहाज नेपालका लागि सेतो हात्ती सरह बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया