शेयर बजारको विवाद चाँडो मिलाउ : पूर्वअध्यक्ष


आर्थिकन्यूज

काठमाडौं, जेठ २९ । नेपाल धितो पत्र बोर्डका पूर्वअध्यक्षहरुले शेयर बजारमा हाल देखिएका विवाद चाडो समाधान गर्न सुझाव दिएका छन् ।

Eco Roofing

बोर्डका पूर्व अध्यक्ष दीपकराज काफ्लेले धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापनलाई तिव्र रुपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले आवश्यक परेको खण्डमा बोर्डमा बाह्य विज्ञको व्यवस्था समेत गर्न पर्ने बताएका छन् ।

यस्तै, बोर्डको अर्का पूर्व अध्यक्ष बाबुराम श्रेष्ठले वर्तमान समयमा पूँजी बजारको चर्चा तथा परिचर्चा चुलिन थालेको बताउँदै कर सम्बन्धी विवादको शिघ्र समाधान गर्न बोर्डलाई आग्रह गरेका छन् । उनले बजार निर्मातालाई भित्र्याउनुपर्ने, संघीयताको स्वरुप अनुसार पूँजी बजारलाई परिवर्तन गर्नुपर्ने लगायतका सुझावहरु दिएका छन् ।

यस्तै नेप्सेका पूर्व महाप्रबन्धक मुकुन्दनाथ ढुङ्गेलले अध्ययन अनुसन्धानमा आधारित भई पूँजीबजारको विकास गर्नेतर्फ विशेष जोड दिन आवश्यक भएको बताए । उनले नेप्सेका सिस्टम अडिटका लागि आवश्यक मापदण्डहरु/मानकहरु विकास गर्न आवश्यक रहेको बताएका थिए ।

बोर्डले सोमबार धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा छलफल तथा सुझाव सम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको सुझावका लागि बोर्डले कार्यक्रमको आयोजना गरेको थियो ।

सोही कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले डिपोजिटरी ऐन तथा ट्रष्ट ऐनको व्यवस्था गर्न आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा इक्रा नेपाल लि. तथा केयर नेपाल लि.का प्रतिनिधिहरुले निष्काशन हुने धितोपत्रको मात्र रेटिङ्ग हुने गरेको बताउँदै यस्तो रेटिङ्ग नियमित हुने व्यवस्था भएमा लगानीकर्तालाई निर्णय लिन सहज हुने बताउँदै प्रत्यक्ष नियमन नहुने संगठित संस्थाको वित्तीय विवरणमा एकरुपता ल्याउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव प्रसाद तिमिल्सनाले पूँजीबजारमा वास्तविक क्षेत्रको प्रवेशका क्रममा धितोपत्रको निष्कासन मूल्य तथा अन्डराइटिङ्ग प्रक्रियामा संवेदनशील हुनुपर्ने धारणा राखेका थिए ।

उनले भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको नीतिगत व्यवस्थासँगै संस्थागत व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने, दोस्रो बजारमा बढेको धितोपत्रको आपूर्तिलाई सन्तुलनमा ल्याउन मार्केट मेकर तथा डिलरको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले दोस्रो बजारको पहुँच विस्तार हुने क्रममा रहेकोमा अनलाइन कारोबार प्रणालीसँगै धितोपत्र बजारका अन्य सेवाहरु पनि देशव्यापी रुपमा सर्वसुलभ हुनुपर्ने धारणा राखेका थिए ।

उनले अनलाइन कारोबार प्रणाली लागू गर्नका लागि सम्बन्धित ऐन तथा नियमावलिमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे । दोस्रो बजारको कारोबारमा निहित जोखिम व्यवस्थापनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने, अल्पकालीन औजारहरुको व्यवस्थाका साथै धितोपत्र दलाल व्यवसायीको संस्थागत विकासतर्फ समेत ध्यान उनले जोड दिएका थिए ।

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले हकप्रद तथा बोनस शेयर सूचीकरणमा ढिलाई हुने गरेको, सूचीकृत कम्पनीको बोर्ड बैठकमा भएका निर्णयहरुको उचित सम्प्रेषण नहुने गरेको गुनासो गरेका थिए ।

यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले अबको धितोपत्र बजार पूर्णतया पूर्वाधारमैत्री, प्रविधिमैत्री हुनुपर्ने धारणा राखेका थिए । उनले प्रत्येक त्रैमासिक अवधिमा बोर्डले कम्तिमा एकपटक सार्वजनिक सुनुवाई कार्यक्रम राख्नुपर्ने, ब्रोकर कमिशनलाई पुनरावलोकन गर्नुपर्ने तथा सूचना सम्प्रेषणमा आवश्यक सुधार ल्याउनुपर्र्ने बताएका थिए ।

साथै, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटलाल रौनियारले पूँजीगत लाभकर सम्बन्धी विवादले बजारलाई हतोत्साही बनाएको तथा दीर्घकालीन अवधिको लागि लगानी गर्ने लगानीकर्तालाई निरुत्साहित बनाएको बताएका थिए ।

उनले अनलाइन कारोबार प्रणालीको शिघ्र कार्यान्वयन गर्नुपर्ने, बैकलाई ब्रोकरको अनुमति दिनुपर्ने, एनआरएन तथा बजार निर्माता प्रवेशलाई सहजीकरण गर्न ढिलाई गर्न नहुने धारणा रोखका थिए ।

धितोपत्र दलाल व्यवसायी सन्तोष मैनालीले वस्तु विनिमय बजारको माध्यमबाट स्थानीय वस्तुलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए ।

उनले प्रभावकारी मुद्रा बजारको अभावका कारणवित्तीय सम्पतिको वास्तविक मूल्य गणना गर्न नसकिएको तथा ऋणपत्र बजार विकासका लागि ढिलाई भइसकेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया