सिण्डिकेट अन्तसँगै धमाधम यातायात सेवा विस्तार, लामाटारबाट बुढानिलकण्ठसम्म बस सेवा शुरू


आर्थिकन्यूज

ललितपुर, जेठ २८ । यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ ।

‛हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवाल, महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गरेका थिए ।

२७ सिटको टाटा कम्पनिको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बाँया दुईतर्फी सवारी संचालनमा ल्याएका छन् ।

मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बुढानिलकण्ठसँग बस सेवामार्फत् सिधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ ।
बस सेवाको शुरूमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस संचालनमा आउने हामी सबैको यातायात कम्पनिका अध्यक्ष मोहन सापकोटोल बताए । बस सेवा संचालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो ।

उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू कटिवद्ध भएर लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात संचालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने बताए । बस सेवालाई अझ प्रभावकारी बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निभाउनुपर्ने बताए ।

वरिष्ठ पत्रकार ऋषि धमलाले ललितपुरको रमणीय स्थान लामाटारबाट बुढानिलकण्ठसम्मको बस सेवा संचालन एउटा सपना पूरा भएको बराबर हो भन्दै देश समृद्धिको यात्रातर्फ लम्किरहेको संकेत मिलेको बताए ।

समृद्धिका लागि सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्ने भन्दै आफू मिडियामार्फत् विकास र प्रगतिका लागि हुने जुनसुकै काममा सहयोग गर्न तयार रहेको बताए । देशमा कनेक्टिभिटी बढाउनुपर्ने भन्दै त्यसले जनता जनताबीचको सम्बन्ध सुमधुर हुनाको साथै समृद्धिले समेत गति लिने बताए । बस सेवा संचालनमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया