एचआईडीसीएलको गफमात्रै ठूला, काम गर्दा खुट्टा लुला !


आर्थिकन्यूज

काठमाडौं, जेठ २७ । सरकारले जलविद्युत् क्षेत्रमा लगानीका लागि सहजीकरण गर्ने र कर्जा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) बैंकका पैसा राखेर हल्ला गर्ने हल्लाखोर निकायको रुमपा स्थापित भएको छ ।

कम्पनीका अघिल्ला प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले केही काम गर्न खोजेका थिए । उनको जलविद्युत्मा केही गरौ र कम्पनीलाई पनि स्थापित गरांै भन्ने सोच थियो ।

कर्मचारी सञ्चय कोषमा रहेर ठूलो रकम परिचालन गरेको वित्तीय ज्ञान तथा अनुभव समेत उनमा थियो । उनले कम्पनीलाई आम रुपमा स्थापित गराएका थिए । तर, चार वर्षे कार्यकाल पूरा गरेर उनी कम्पनीबाट बाहिरिएपछि कम्पनी देखाउने एउटा संस्थाका रुपमा मात्रै स्थापित छ । कम्पनी छ कि छैन भन्ने कुरा ऊर्जा मन्त्रालयले समेत थाहा नपाउने अवस्था रहेको छ ।

त्यतिमात्रै होइन कम्पनी अर्को बैंकको रुपमा स्थापित भएको छ, बढीभन्दा बढी ब्याज लिने र निजी ऊर्जा उद्यमीलाई कसी कसाउ गर्ने संस्थाको रुपमा मात्रै स्थापित भएको उद्यमीहरुको गुनासो छ । अरु बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीमा केही फरक भएन, निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको आक्रोश छ ।

वर्षमा एकाध पटक कार्यक्रम गर्ने, केही पटक एकाध सञ्चारकर्मी बोलाएर प्रशस्ती प्रचार गराउन लगाउने बाहेक कम्पनीको अरु भूमिका छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका छविराज पोखरेल जलविद्युत्को ‘ज’ पनि नबुझेका व्यक्ति हुन् ।

जागिरका लागि रोइकराई गर्दै शक्ति केन्द्र धाएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनेको पोखरेलकै कारण कम्पनी धरापमा पर्ने अवस्थामा पुगेको जानकारहरुको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले त कम्पनी र अरु वाणिज्य बैंकमा केही फरक नभएको टिप्पणी यसअघि नै सार्वजनिक गरेको छ । इपानले कम्पनीको भूमिका जलविद्युत् क्षेत्रमा सहयोगी नभई अवरोध गर्ने अर्को निकायको रुपमा रहेको जनाएको छ ।

केही नगरी जागिर पचाउन पनि गाह्रो होला भन्दै कम्पनीले वर्षमा एकपटक साधारणसभाको आयोजना गर्छ भने एकाध पटक पत्रकार सम्मलन गरेर कम्पनीले यसो–यसो गरिरहेको छ भन्ने पुरानै जानकारी दिने गरेको छ । प्रसंग हो, कम्पनीले शुक्रबार आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुरानै कुरा दोहो¥याए ।

उनले फुकोट कर्णालीमा कम्पनीले एक अर्ब २६ करोड लगानी गरेको बताए । जबकी यो निर्णय गत वर्ष नै भएको हो । कम्पनीमा पोखरेल आउनु अगावै भएको निर्णयलाई हालसम्म प्रचार गरेर कम्पनी बसिरहेका छन् ।

नयाँ केही पनि काम नगर्ने, विगतकै कामको हल्ला मात्रै गरेर बस्ने प्रवृत्ति कम्पनीमा देखिएको छ । सरकारले ऊर्जा उत्पादन गर्न चाहने निजी तथा सरकारी कम्पनीलाई स्वपुँजी उपलब्ध गराउने लक्ष्यका साथ कम्पनी स्थापना गरेको हो । तर, कम्पनीले विश्व बैंकले उपलब्ध गराएको रकम समेत आफंैले दिएको भन्दै प्रचार गरिरहेको छ ।

बुटवल पावर कम्पनीले निर्माण गरिरहेको काबेली आयोजनाका लागि विश्व बैंकले उपलब्ध गराएको ऋण समेत कम्पनीले आफूले नै दिएको भनेर प्रचार गरेको छ । कम्पनीले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करिब एक अर्ब २६ करोड लगानी गरेको दाबी गरेको छ । जबकी सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको छ । जलविद्युत् उत्पादन कम्पनीले त्यसका लागि काम गरिरहेको छ ।

कम्पनीका कार्यकारी अधिकृत पोखरेलले चालू आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको पुरानै कुरा दोहो¥याए ।

ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले पुरानै कुरा आएको भन्दै पोखरेलको प्रतिवाद गरेका थिए । केही न केही नयाँ गर्नुपर्याे, सधै पुरानै कुरा गरेर कम्पनी चल्न सक्छ ? यस्ता कुराले भएन सापकोटाले पोखरेलको कुरामा विमति जनाएका थिए ।

कम्पनीका नायब महाप्रबन्धक अरुण रजौरियाले भने वस्तुगत तथ्यांक पेश गर्दै सोचे अनुसार काम गर्न नसकिएको भन्दै आगामी दिनमा सुधार गरेर जाने बताएका थिए । उनले कुल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा लगानी गर्ने विषयमा छलफल भएको बताए । उनले छलफलका आधारमा ६ अर्ब ७८ करोड ऋणका लागि माग आएको बताए ।
‘हामीले छलफल गरेर, आवश्यक कागजात हेरेर ऋण दिने तयारी गरेका छौं, केही आयोजनाले पैसा लगेका छन्, केहीले छलफल गरिरहेका छन्,’ – उनले भने ।

कम्पनीले राष्ट्रिय प्रसारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको शेयर लगानी गरेको छ । बैंकका पैसा राखेर कम्पनीले शेयरधनीलाई करिब ९० करोडको लाभांश वितरण गरेको समेत दाबी गरियो ।बैंकमा पैसा राखेर ब्याजमात्रै खाने प्रवृत्तिले हित नगर्ने भन्दै कम्पनीको नेतृत्वमा रहेको कमजोरी सञ्चाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया