चीन तर्फको निर्यात ह्वात्तै बढ्यो, भारततर्फको व्यापार घाटा उच्च


आर्थिकन्यूज
File Picture

काठमाडौं, जेठ २७ । चीनतर्फको निर्यात ह्वात्तै बढेको छ । १० महिनाको अवधिमा वस्तु निर्यात भएका सबै देशहरु मध्ये चीन अग्रस्थानमा देखिएको हो ।

आर्थिक बर्ष २०७४/७५ को दश महिनासम्ममा कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु. ६६ अर्ब ६५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा अलंैची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा, लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात २१.९ प्रतिशतले बढेर रु. ९८५ अर्ब ८३ करोड पुगेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २३.४ प्रतिशत, चीनबाट भएको आयात २२.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एम.एस.विलेट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया