ट्रम्पसँग वार्ता गर्न किम जोङ पुगे सिंगापुर


एजेन्सी

एजेन्सी, जेठ २७ । पूर्व निर्धारित समय अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।

उनी १२ जुनमा हुने शिखर वार्ताको लागि सिंगापुर पुगेका हुन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सीले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।

किमको आगमनको तयारीमा सिंगापुरका प्रमुख सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्रा गर्ने सडकमा उनको तस्बिर लिन लामो समय अगाडिदेखि नै तयारी अवस्थामा बसिरहेको बताइएको छ ।

अन्तराष्ट्रिय सञ्चारकर्मीहरुलाई भने निश्चित सीमाभन्दा बाहिर तस्बिर खिच्न निषेध गरिएको बताइएको छ । आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि क्यानडाको जी–सेभेन सम्मेलनपछि, बेलुका सिंगापुरका लागि प्रस्थान गर्ने योजना रहेको छ । आजै बेलुका उनले सिंगापुरका प्रधानमन्त्री लि हिस्न लुङसँग भेटवार्ता गर्ने जनाइएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया