व्यापार घाटा १० महिनामै ९ खर्ब, आयात उच्च निर्यात निराशाजनक


आर्थिकन्यूज

काठमाडौं, जठ २७ । आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरूबाट ९ खर्ब ८२ अर्ब ५४ करोड ५९ लाख ४४ हजार रुपैयाँका सामग्रीहरू आयत भएका छन् ।

आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात् ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । निर्यात वृद्धिदर ९ दशमलव ३४ प्रतिशत मात्रै छ भने आयात २१ दशमलव ७१ प्रतिशत छ ।

यो तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासहरूले सार्थकता पाउन सकेका छैनन् भने मुलुक आयातमा झन् बढी निर्भर रहेको देखिन्छ ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको छ ।

साउनदेखि वैशाखसम्ममा सबैभन्दा बढी १ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जाहरू हुन् ।

जसमा १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर खर्च भएको छ । करिब एक खर्ब बराबरका फलाम तथा स्टिल सामग्रीहरू आयात भएका छन् ।

६८ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारी साधन आयत भएका छन् । त्यस्तै विद्युतीय सामग्री ६३ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ ।

सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतबाट १० महिनामा ६ खर्ब ४९ अर्ब ३४ करोड ६२ लाख ८२ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् ।

निर्यात भने ३८ अर्ब १४ करोड ९१ लाख ७ हजार रुपैयाँ मात्र भएको भारतसँगको व्यापार घाटा ६ खर्ब ११ अर्ब १९ करोड ७१ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।  स्रोतः कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया