घरजग्गाको कारोबार अन्यत्र घटदा, विराटनगरको मात्रै किन बढ्यो ?


आर्थिकन्यूज

काठमाडौं, जेठ २६ । चालू आर्थिक वर्षमा घरजग्गाको कारोबार घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा चार लाख १४ हजार ६ सय २७ वटा घरजग्गा रजिष्टेशन भएकोमा यस वर्षको समीक्षा अवधिमा साढे २० प्रतिशतले घटेर तीन लाख २९ हजार पाँच सय २६ वटामा झरेको छ ।

Eco Roofing

घरजग्गा रजिष्ट्रशन घटे पनि घर/भवनको स्थायी नक्सा पास गर्नेको संख्या भने साढे ३६ प्रतिशतभन्दा बढीले बढेको छ । घरजग्गाको कारोबार घट्दा यसको प्रत्यक्ष असर राजस्वमा परेको छ । गएको आवको पहिलो ६ महिनामा एक अर्ब एक करोड ११ लाख राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा साढे २१ प्रतिशत राजस्व घटेर ७ अर्ब ९३ करोड ६४ लाखमा सीमित भएको छ ।

अघिल्लो आव २०७२/७३ मा घरजग्गाको रजिष्ट्रेशन करिब ६१ प्रतिशतले बढेको थियो भने राजस्वमा ११०.१६ प्रतिशतले वृद्धि भएर १० अर्ब ११ करोड १२ लाख राजस्व संकलन भएको थियो ।

स्थानीय तहमा नै सरकार गठन भएर शहरमा पाउने सुविधा गाउँमै पाउन थालेपछि घरजग्गाको कारोबार घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । ‘सरकारी सेवा सुविधा स्थानीयस्तरमै प्रवाह हुन थालेपछि ग्रामीण इलाकामा मानिस शहरी क्षेत्रमा आउने क्रम रोकिएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरवहादुर थापाले भने–‘राष्ट्र बैंकले घरजग्गा कारोबारमा गरेको कडाइ र व्रिपेषण आप्रवाहमा आएको कमीको छ ।’ यसको असर घरजग्गा कारोबार र राजस्वमा देखिएको छ ।

घरजग्गा व्यवसायी इच्छाराज वाग्लेले भने घरजग्गाको कारोबारमा शिथिलता आए पनि केही समयपछि यो फेरि उकालो लाग्ने बताउँछन् । बैंकले ऋण नदिएकाले यसको असर घरजग्गामा परेको उनको भनाइ छ ।

क्षेत्रगत रुपमा घरजग्गा रजिष्ट्रेशन विराटनगरमा सामान्य वृद्धि भएको छ भने अन्य क्षेत्रमा ह्रास आएको छ । विराटनगरमा चालू आवको समीक्षा अवधिमा ७७ हजार एक सय ७७ घरजग्गा रजिष्ट्रेशन भएको छ । गएको आवको सोही अवधिमा सो शीर्षकमा ७६ हजार दुई सय ४६ वटा घरजग्गा रजिष्ट्रेशन पास भएका थिए ।

समीक्षा अवधिमा वीरगञ्जमा सबैभन्दा बढी घरजग्गाको कारोबार घटेको छ । उक्त क्षेत्रमा गत आवको सोही अवधिको तुलनामा करिब ५४ प्रतिशतले घरजग्गा कारोबार घटेको छ ।

त्यसरी नै धनगढीमा ३७ प्रतिशतभन्दा बढीले कारोबारमा ह्रास आएको छ भने घरजग्गा कारोबारमा ह्रास आउनेमा काठमाडौं तस्रो स्थानमा परेको छ । गएको आवको पहिलो ६ महिनामा ८७ हजार नौ सय ३७ वटा घरजग्गाको रजिष्ट्रेशन पास भएकोमा यस वर्षको समीक्षा अवधिमा २९ प्रतिशतभन्दा बढीले घटेर ६२ हजार दुई सय २२ मा सीमित रहेको छ । पोखरामा १६ नेपालगञ्जमा १५ र जनकपुरमा नौ प्रतिशतले कारोबारमा कमी आएको छ ।

समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्यालाई समेत क्षेत्रगत विश्लेषण गर्दा विराटनगर, नेपालगञ्ज र धनगढीमा घटेको छ भने अन्य क्षेत्रमा बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया