यस्तो देखियो देशको अर्थतन्त्र–‘कृषि उत्पादन सामान्य, घरजग्गा कारोबारमा गिरावट, पर्यटन र उद्योग फस्टाउँदै’


आर्थिकन्यूज

काठमाडौं, जेठ २५ , चालू आर्थिक वर्षमा मुलुकको समग्र आर्थिक वृद्धिको अवस्था सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आवको शुरुमा आएको बाढी तथा भीषण वर्षाका कारण कृषि उत्पादनमा सामान्य समस्या देखिए पनि अन्य क्षेत्रको उत्पादनमा भने सुधार आएको छ ।

औद्योगिक क्षेत्रको उत्पादन वृद्धिदर सन्तोषजनक देखिएको छ भने सेवा क्षेत्रको विस्तार हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनले चालू आवको सो अवधिमा धानको उत्पादन एक दशमलव पाँच कमी आए पनि मकैको उत्पादन चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । आलुको उत्पादन साढे पाँच र तरकारीको उत्पादन ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाद्वारा ८.८ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

सिंचाइ सुविधाको अभाव, जमिनको अनावश्यक खण्डिकरण, कृषि प्रसार तथा प्राविधिक सेवाको अपर्याप्तता, उन्नत जातका बीउ–बिजन, तथा गुणस्तरीय रासायनिक मलको अभाव तथा कृषि कर्जाको अभावका साथै बजार पहुँच जस्ता कृषि क्षेत्रमा समस्या देखिएको राष्ट्र बैक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले बताए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनाकोे तुलनामा चालू आवको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता तीन दशमलव ७७ प्रतिशतले बढेको छ । गएको आवको पहिलो ६ महिनामा ५४.२४ प्रतिशत क्षमता रहेको उद्योगको चालू आवको पहिलो ६ महिनामा आईपुग्दा थोरै मात्र सुधार आएको छ ।

समीक्षा अवधिमा पश्मिाना उद्योगको क्षमता ९९.६४ प्रतिशत पुगेको छ भने हल्का पेय पदार्थको उत्पादन ९९.९३ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विद्युत आपूर्तिका आएको सुधार र निर्माणजन्य गतिविधिमा विस्तार भएको कारण उद्योगको क्षमतामा विस्तार भएको हो ।

ऊर्जा संकटको दीर्घकालीन समाधान, औद्योगिक पूर्वाधारको विकास तथा लगानीमैत्री वातावरणको सिर्जना गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न चुनौती रहेको विभाग प्रमुख थापाले बताए । यस क्षेत्रमा वित्तीय सेवको पहुँचमा अभिवृद्धि, वित्तीय साक्षरता अभियान, तथा पर्यटकीय पूर्वाधारको विकास नहुँदा यसको विकास तथा विस्तार गर्नु चुनौती पूर्ण भएको थापाले ठम्याइ छ ।
यस बाहेक औद्योगिक उत्पादनमा वनस्पति घिउ, तेल, औषधि, चिरेको काठ, फलामे छड, पत्ति, इँटा, सिमेन्ट तथा विजुलीको तार तथा केवलको उत्पादनमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा प्रशोधित दूध, अन्न तथा पशुदाना,अन्य खाद्य पदार्थ, धागो, प्रशोधित छाला, अखबारी कागजलगायतका वस्तुको उत्पादनमा कमी आएको छ । यी क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको औदोगिक कर्जाको ११.९ प्रतिशत रहेको जानकारी दिइएको छ ।

चालू आवमा घरजग्गाको कारोबारमा कमी आएको छ । घरजग्गा कारोबारमा आएको कमीसँगै पहिलो ६ महिनामा घरजग्गा रजिष्ट्रेसनको संख्यामा साढे २० प्रतिशतले कमी आएको छ भने राजस्व संकलनमा साढे २१ प्रतिशतले कमी आएको छ ।
गत आवको तुलनामा यस आवको पहिलो ६ महिनामा सवारी साधन दर्तामा १२.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल टेलिकम, एनसेल तथा विभिन्न कम्पनीहरूले वितरण गरेको ल्यान्डलाइन टेलिफोनको संख्यामा ११.७ र इन्टरनेट सेवामा १६ मा १६प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया