ग्रामीण पर्यटनमा पर्यटकीय क्रियाकलापका विविधीकरण कसरी ?


आर्थिकन्यूज

चेतनाथ कणेल ‘हरित’

नेपालमा पर्यटन विकासको विधिवत थालनी सन् १९५० कै दशकमा भए पनि ग्रामीण पर्यटन विकासको पद्धतिगत आरम्भ भने सन् २००० को दशकमा मात्र भएको मानिन्छ । स्पष्ट मार्गचित्र, विस्तृत मार्गदर्शन र अवलम्बनयोग्य संस्थागत स्वरूपको खाकासहित थालनी भएको ग्रामीण पर्यटन विकास विशेष कार्यक्रम (५ वर्षे परियोजना) संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकै अगुवाइमा भएको थियो ।

ग्रामीण पर्यटन विकासका लागि ऐतिहासिक रूपमा आरम्भ भएको त्यो परियोजनाका लागि मन्त्रालयलाई संंयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी) र निदरल्याण्ड्स् विकास निगम– नेपाल (एसएनभी) ले सहयोग गरेका थिए । सहयोगको किसिम प्राविधिक तथा आर्थिक दुबै खालको थियो ।

ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टीआरपीएपी) नाम दिइएको सो परियोजनाले सन् २००१ सेप्टेम्बरदेखि सन् २००७ को जुलाई महिनासम्म काम ग¥यो । नेपालका ६ वटा जिल्ला (ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, चितवन, रुपन्देही र डोल्पा) लाई कार्यक्षेत्र बनाएको सो परियोजनालाई नेपाल पर्यटन बोर्डले सुरुदेखि नै कार्यालय स्थल तथा अन्य सुविधा उपलब्ध गराएर सहयोग गरेको थियो ।

परियोजनाका सबै सिकाइ पर्यटन बोर्डबाटै चालु रहने मान्यता पनि त्यसबखत राखिएको थियो । यद्यपि सन् २००१ देखि २००७ सम्मको अवधि भनेको नेपालको माओवादी–सरकार द्वन्द्व चरम अवस्थामा पुगेको समय थियो । परियोजनाले त्यो कठिन अवस्थामा पनि काम जसोतसो ग¥यो, तर सोचेजति गर्न नसकेको तत्कालीन परियोजना प्रवन्धक तथा पर्यटनविद् रविजङ्ग पाण्डेको भनाइ छ ।

नेपालको सिकाइ भियतनामसम्म !
नेपाल पर्यटन बोर्डको एक अतिरिक्त इकाइका रूपमा दिगो पर्यटन विकास इकाइ भनी एउटा अलग्गै फाँटको प्रबन्ध गरी ग्रामीण पर्यटकीय गतिविधि हेर्ने व्यवस्था मिलाइएको थियो । सोही इकाइले सरकारी, निजी, सामुदायिक सबै खालका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याई दिगो पर्यटन विकासका अभ्यास र प्रक्रियाबारेमा नियमित छलफल तथा अन्तक्र्रिया गराउन त्यतिबेलै आरम्भ गरेको हो ।

‘सस्टेनेबल टुरिजम नेटवर्क (एसटीएन)’ नाम दिइएको सो नेटवर्कले पनि टीआरपीएपीका सिकाइलाई प्रवद्र्धन र परिष्कृत गर्न सघाएको थियो । नेपालभर ग्रामीण पर्यटनका गतिविधि विस्तारमा त्यसमा आबद्ध विभिन्न संस्थाहरू र व्यक्तिहरू सक्रिय हुन्थे ।

अहिले देशका विभिन्न भागमा ग्रामीण पर्यटन, गाउँ पर्यटन, होमस्टे पर्यटन आदि नामले पर्यटनको विस्तारीकरण र गन्तव्य विविधीकरणमा टीआरपीएपी र एसटीएनको महत्वपूर्ण योगदानलाई नेपालभित्र त राम्रैसँग स्मरण गर्ने गरिएको छ, त्यसका अतिरिक्त त्यसै संस्थागत संरचनाबाट प्रशिक्षित र दीक्षित विषय विशेषज्ञहरूले सिक्किम, भुटान, भियतनाम, बङ्गलादेश, कम्बोडिया, लाओस्लगायतका मुलकमा पनि टीआरपीएपी मोडेल रुचाई अवलम्बन गर्ने गरेको पाइन्छ ।

यो पङ्क्तिकार पनि केही समय भियतनामका लागि अन्तर्राष्ट्रिय पर्यटन परामर्शदाता भई ‘इन्टरमिटेन्ट बेसिस’मा करिब ३ वर्ष (सन् २०१० देखि २०१२) एउटा परियोजनामा सेवारत रह्यो । त्यसबखत भियतनामीलाई दिगो पर्यटन व्यवस्थापनका लागि सिकाउने भनेका कुरा सबै नेपालको नमुना पर्यटन परियोजना ‘टीआरपीएपी’का सिकाइ नै थिए ।

त्यस परियोजनाका प्रमुखसमेत नेपालको टीआरपीएपी परियोजनाका पूर्व प्रबन्धक (रविजङ्ग पाण्डे) हुनु नेपालका लागि पनि गौरव गर्ने विषय बनेको थियो । त्यो सिकाइपद्धि भियतनामले अहिले एसियाली विकास बैंक, विश्व बैंकलगायतका ठूल्ठूला बित्तीय संस्थाहरूबाट अनुदान तथा ऋण दुबै खालको रकम आक्रामक ढङ्गले प्रयोग गरी करोडौँ डलरका दिगो पर्यटन विकास परियोजनाहरू भियतनामका विभिन्न प्रदेश (प्रोभिन्स) हरूमा चलाइरहेको छ ।

भियतनामको त्यो पहल र प्रगति देख्दा भने अहिले हामीलाई ईष्र्या लाग्छ । किनकि टीआरपीएपीपछि नेपालमा नाम लिने खालको र जनताका मनमा बस्ने खालको एउटा पनि परियोजना चलेको छैन भन्दा हुन्छ । केही अल्पावधिका परियोजना चले पनि विदेशी सल्लाहकार र कर्मचारीकै हालीमुहाली हुने र ठूलो रकम तिनैका नाममा बाहिरिने खालका परियोजना चलेका छन् । त्यस्ता परियोजना जसले जिल्ला तहमा स्थानीय सरोकारवालाहरूसँग मिलेर काम गर्दैनन्, जनसहभागिता र सशक्तिकरणको मतलव राख्नैनन्, र जिल्लामा टिकाउ संरचना र संयन्त्रकोे कुरै गर्दैनन् भने तिनले जनतालाई छुन सक्दैनन्, जनताका हृदयमा बस्न सक्दैनन् ।

अझ गरिब वर्गलाई त झन् ‘कौवालाई बेल’ पाकेसरह हुन्छन् त्यस्ता ‘हाईफाई’ परियोजना ! खाली माथि–माथि काम गरेर हल्ला मच्चाउने तर तल अर्थात् ‘तृणमूल’मा कुनै प्रभाव नपर्ने त्यस्ता परियोजनाले राष्ट्रका लागि आर्थिक भारमात्र थपेर जान्छन् । बानी बिगारेर मात्र जान्छन् । यसमा सबै जना चनाखो बन्नुपर्ने देखिन्छ । अबका दिनमा त हामी झन् चनाखो बनेनौँ भने कुनै दातृ निकाय/अन्तर्राष्ट्रिय संस्था एउटा/दुइटा प्रदेश वा एउटा÷दुइटा विशेष जातजातिमा रमाउन पुग्ने पनि खतरा छ । ‘सङ्घीय नेपाल’मा त्यो नहोस् !

पर्यटन गन्तव्य र क्रियाकलाप विविधीकरणमा योजना
पर्यटकीय गन्तव्य र गतिविधिमा विविधता ल्याउने, गरिबी निवारणमा टेवा पु¥याउने, महिलामैत्री, समुदायमैत्री तथा वातावरणमैत्री पर्यटन विकासमा जोड दिने प्रयासहरू नेपालमा सन् २००० पछि नै गतिवान बनेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रका (एक्याप) अनुभवहरूले पनि देशका अन्य संरक्षण क्षेत्रमा पर्यटन विकास गर्न र पर्यटनका गतिविधिहरूलाई गरिबउन्मुख बनाउने सोच विस्तार गर्नमा सघाएको कुरा यहाँनिर भुल्नु हुँदैन ।

पर्यटनबाट हुने फोहोरमैला व्यवस्थापनका लागि एक्यापले अवलम्बन गरेको ‘सिक्स आर’ (६ आर) अर्थात् रेड्युस, रियुज, रिसाइकल, रिप्लेस, रेगुलेट, रेस्ट्रिक्ट (प्रयोग घटाउने, पुनःप्रयोग गर्ने, पुनःचक्रण गर्ने, प्रतिस्थापन गर्ने, कडा नियम बनाउने, प्रतिबन्धै लगाउने) सिद्धान्तको व्यावहारिक प्रयोग र पाठहरू अन्यत्रका लागि पनि ग्रहणयोग्य र अवलम्बनयोग्य थिए । अहिले एक्याप क्षेत्रमा वर्षेनि डेढ लाख विदेशी पर्यटक भ्रमणमा जान्छन् ।

नेपालीहरू पनि हजारौंको संख्यामा त्यहाँ पुग्ने गर्छन् । नेपालका प्रमुख ५ गन्तव्यमा एक्याप क्षेत्र पनि पर्दछ । एक्यापका पाठको आधारमा मेचीको कञ्चनजङ्घा क्षेत्रमा ‘केक्याप’ कार्यक्रम चलिरहेको छ । गौरीशङ्कर क्षेत्रमा ‘जीक्याप’ चलिरहेको छ । त्यसैगरी, गण्डकी क्षेत्रमा ‘एमक्याप’ (मनास्लु संरक्षण क्षेत्र कार्यक्रम) चलिरहेको छ । ग्रामीण पर्यटन र पर्यापर्यटनको रहर र लहर नेपालमा आजभोलि तीब्रतर रूपमा बढेको छ ।

ग्रामीण पर्यटनको चक्कर अहिले नेपालका कम्तीमा ४० जिल्लामा चलिरहेको छ । करिब १५ जिल्लाले त ग्रामीण पर्यटनलाई नै केन्द्रमा राखेर दीर्घकालीन पर्यटन योजना (मास्टर प्लान) पनि बनाएका थिए । तर जिल्ला विकास समितिमार्फत् बनाइएका ती योजनाहरूमा सङ्घीय नयाँ संरचनासँगै समसामयिक परिवर्तन ल्याई चुनिएका जनप्रतिनिधिहरूको पहल र सक्रियतामा सहभागितामा आधारित नयाँ गुरुयोजनाहरू बनाउनुपर्ने देखिएको छ ।

जिल्ला समन्वय समितिको भूमिका कहाँ कसरी हुने भन्ने कुराको पनि ती योजनामा टुङ्गो लगाइनुपर्छ । गाउँपालिका तथा नगरपालिकाहरूले आआफ्नो क्षेत्रका लागि दीर्घकालीन पर्यटन योजना बनाउन अब ढीला गर्नु हुँदैन ।

नेपालमा ग्रामीण पर्यटनको प्रमुख स्वाद भनेकै विविध जातीय संस्कृति र स्थानीय अनुपम प्रकृतिसँग रम्ने हो । स्थानीय (अर्गानिक) परिकार खुवाउने, स्थानीय संस्कृति र रहनसहन देखाउने, प्रकृतिसँग रमाउँदै अध्ययन अवलोकन गराउने, जातीय तथा ऐतिहासिक सङ्ग्रहालय घुमाउने, खेतीपातीका काममा संलग्न गराउने, सीपमूलक हस्तकलाका सामग्री किन्न लगाउन वा उपहार दिने,े आदि विभिन्न पर्यटकीय क्रियाकलापहरू पाहुनालाई गराउने चलन छ ।

ग्रामीण गन्तव्यहरूमा नेपाली आन्तरिक पर्यटकहरूभन्दा पनि विदेशी नै रमाउँछन् । गाउँका पर्यटकभन्दा पनि शहरका पर्यटक नै रमाउँछन् । ग्रामीण पर्यटनको यो ‘विशिष्ट चरित्र’ नै हो ।

नयाँ क्रियाकलाप थप्ने क्रियाशीलता
ग्रामीण पर्यटनमा पछिल्लो समयमा केही नयाँ नयाँ गतिविधि र क्रियाकलापहरू थप्ने लहर कुनै न कुनै रूपमा देशैभरि चलेको छ । सामान्य हिसाबले बुझ्नुपर्दा, कुनै ठाउँमा आएर पर्यटकले समय बिताउने क्रममा जे जे गर्छ, त्यो नै ‘पर्यटकीय क्रियाकलाप’ (‘टुरिजम एक्टिभिटी’) हो ।

आफ्नो गाउँठाउँमा आउने पर्यटकहरूलाई बढीभन्दा बढी अवधि कसरी बसाउने, बढीभन्दा बढी क्रियाकलापमा सरिक बनाई उच्च आनन्दानुभूति कसरी गराउने र बढीभन्दा बढी डलर वा रुपैयाँ पनि स्थानीयस्तरमा कसरी झार्ने भन्ने मूल चिन्तन ग्रामीण पर्यटन व्यवसायीहरू र समुदायमा हुनु स्वाभाविक हो । यसका लागि कुनै पनि गन्तव्यमा पर्यटकीय क्रियाकलापमा विविधीकरण र नवीनपन नल्याई हुँदैन ।

त्यस्ता क्रियाकलापमा गोरु जुधाई, बयलगाडा तथा राँगा चढाइ, नदीमा माछा मार्ने, पौडी खेल्ने, भीरमौरीको मह संकलन कार्यमा विदेशीलाई संलग्न गराउने, रोपाइँ गर्न लगाउने, यार्सागुम्बा संकलनमा सहभागी गराउने आदि नयाँ नयाँ पर्यटकीय क्रियाकलापहरू व्यावसायिक हिसाबबाट अगाडि बढ्दैछन् ।

अझ कतिपय ठाउँमा चट्टान आरोहण, ताल तथा नदीमा पौडी प्रतियोगिता, बालुवामा भलिवल तथा फुटवल खेल, छेलो तथा तीर हान्ने खेल, योगा तथा ध्यान, जिउँदो चौंरीको तातो रगत पिउने ‘स्वास्थ्यवद्र्धक’ परम्परावादी क्रियाकलाप आदि पनि अहिलेका ग्रामीण पर्यटन चहलपहलमा जोडिएका छन् ।

ठाउँअनुसार यस्ता सुविधा र अवसरहरू बढाइनाले विदेशबाट नेपाल आउने पर्यटकलाई र आन्तरिक पर्यटकलाई समेत नयाँ–नयाँ अनुभव गर्ने अवसर मिल्नेछ । पर्यटकहरू थप आकर्षित हुनेछन् । बसाइँ लम्ब्याउन उत्साहित हुनेछन् । अरुलाई तान्न पनि प्रयासरत रहनेछन् ।

पछिल्लो समयमा नयाँ पर्यटकीय क्रियाकलाप थप्ने क्रममा इलामको अन्तुक्षेत्रमा प्याराग्लाइडिङको समेत परीक्षण उडान सफल भएको छ । करिब १५ मिनट लाग्ने यो उडान विस्तारै व्यावसायिक बन्न सकेमा नेपाल, भारत र भुटानका पर्यटकहरू यस क्षेत्रमा तान्न सजिलो हुनेछ । अपूर्व सूर्योदयसहितको अन्तुको होमस्टे पर्यटन त्यसै पनि संसार प्रसिद्ध छ । अझ नयाँ नयाँ क्रियाकलापहरू थप्दै जाँदा यसको भविष्य थप चमकदार र धमकदार बन्नेछ ।

अन्तुको कुरा अरु गन्तव्यका सरोकारवालाहरूले पनि सिक्नुपर्छ । स्थानीय परिवेश र उपयुक्तताका आधारमा के के नयाँ नयाँ क्रियाकलाप थप्न सकिन्छ भन्ने कुरामा रातदिन चिन्तनशील बन्नुपर्छ । अनिमात्र नेपाली ग्रामीण पर्यटनले दक्षिण एसियामा विशेष स्थान जमाउन र अनुपम पहिचान कायम गर्न सक्नेछ । यसका लागि सहजीकरण गर्ने काममा नेपाल पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, तारागाउँ विकास समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च एवम् निजी क्षेत्रको प्रतिनिधित्व गर्ने अन्य दर्जनौं राष्ट्रिय तथा प्रादेशिक छाता संगठनहरूको पनि अहम् भूमिका खेलिरहनु पर्छ ।

पर्यटनमा लागेका व्यवसायी, अध्येता र प्रबुद्ध व्यक्तिहरूले अलिकति भए पनि गन्तव्य र क्रियाकलापमा कसरी विविधीकरण ल्याउन सकिन्छ, पृष्ठपोषण दिँदै जानुपर्छ । नेपाली पर्यटनको भविष्य उज्यालो छ । यस कार्यमा सबै लागौँ !

फेसबुकबाट तपाईको प्रतिक्रिया