भाटभटेनी अनलाइन डटकम अब ईसेवा पसल डटकम


आर्थिकन्यूज

काठमाडौं, जेठ २२ । अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेसनल प्रालिले एक्वायर गरेको छ ।

विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहँुचमा पुर्याउने उद्देश्यसाथ एक्वायर गरेको एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले बताए । उनले भने–‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब ईसेवा पसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं ।’

ईसेवा पसल डटकमका सीईओ मनिष श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफूहरूले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनले भने– ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । एफवान सफ्टसँगको सहकार्यले हामी यसले धेरै अगाडि बढाउनेछौं । अब ईसेवालगायत नेपालका अधिकांश बैंकका मोबाइल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । ईसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ । साथै कम्पनीले अधिकतम् २४ घण्टा भित्र निःशुल्क डेलिभरी गर्नेेछ ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ वान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिइरहेका बेला एफ वान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया