विलासिता र नेपालमै उत्पादन हुने वस्तुको आयातमा रोक लाग्ने


आर्थिकन्यूज

काठमाडौं, जेठ ४ । सरकारले बढ्दो व्यापारघाटालाई न्यूनीकरण गर्न नेपालमै उत्पादन हुन सक्ने वा विलासिताका वस्तु आयातमा रोक लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माणमा जुटेको सरकारले ठूला रेन्चको निजी सवारी साधन तथा नेपालमै उत्पादन गर्न सकिने सामान आयातमा प्रतिबन्ध लगाउने तयारीमा जुटेको हो ।

Eco Roofing

अर्थमन्त्री डा. युवराज खतिवडाले पटक–पटक आयात बढ्यो यसको भार थेग्न आगामी दिनमा अझ गाह्रो पर्ने भएकाले यसलाई निरुत्साहित गर्न स्वदेशी उत्पादनलाई बढ्वा दिनुपर्ने बताउँदै आएका छन् । राजस्व सचिव शिशिरकुमार ढुंगानले आयात नीतिमा परिवर्तन गरी नयाँ ढंगबाट ल्याउने तयारी भइरहेको बताए । ‘सरकारको नीति भनेको आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्नु हो,’ उनले भने– ‘यसका लागि के कस्ता उपाय अपनाउनुपर्छ, त्यसमा सरकार लाग्ने छ ।’

ठूला रेन्चका सवारी साधनदेखि सानातिना वस्तुले पनि आयातको आकारलाई ह्वात्तै बढाएको मन्त्रालयले बतायो । ‘जुन वस्तु नेपालमा उत्पादन गर्न सकिन्छ,’ त्यस्ता वस्तु भरसक आयात नगर्ने र ती वस्तुलाई स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने नीति सरकारले लिने उनले बताए ।

अहिले दैनिक आयात गर्न पाउने परिमाण बढे पनि राष्ट्र बैंकले दिएको सीमाभन्दा बढी सुन आयात गर्न नपाउने व्यवस्था अद्यावधि नै छ ।

सरकारले आगामी आवमा रोजगारी सिर्जना गर्ने, गरिबी घटाउने, उत्पादन र उत्पादकत्व बढाउनेलगायतका कार्यलाई प्रोत्साहन गर्दै सरकारको ठूलो चुनौतीको रुपमा रहेको व्यापारघाटालाई कम गर्ने तयारी शुरु गरेको हो । नेपाली उत्पादनबाटै काम चलाउन सकिने वस्तु आयातमा सरकारले भरसर रोक पनि लगाउन सक्छ । अहिले बजेट निर्मार्णको समय भएकाले यो हुन्छ त्यो हुँदैन भन्दा पनि व्यापारघाटा घटाउन सरकारले विशेष कदम चाल्ने अर्थ स्रोतले बताएको छ ।
साथै सरकारले आगामी आर्थिक वर्षको बजेटमा करको दर र दायरा परिवर्तन भएको छ । संघीय शासन प्रणालीका कारण वित्तीय दायित्व बढेसँगै सरकारले आगामी बजेटमार्फत् करको दरलाई परिवर्तन गर्नुका साथै दायरालाई समेत बढाउन लागेको हो । अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामशरण पुडासैनीले करका दर र दायरा परिवर्तन हुने बताएका छन् ।

‘अहिले नै यसमा यतिभन्दा पनि हामी सबै करको दर र दायरामा छलफल गरिहेको छौं,’ उनले भने–‘आगामी बजेटमा करका नीति तथा कार्यक्रममा केही परिवर्तन आउनेछ ।’ भन्सार महशुलदेखि मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्कलगायत करमा हेरफेर हुनेछ । वस्तु आयातका विषयलाई लिएर पनि सरकारले छुट्टै गृहकार्य शुरू गरेको छ ।
पेट्रोलियम पदार्थ तथा अन्य वस्तु जुन वस्तु नेपाली भूमिमा उत्पादन हुन सक्दैन त्यस्ता वस्तु सहजै आयात गर्न पाए पनि त्यति धेरै आवश्यकताभित्र नपर्ने तथा नेपाली उत्पादनबाट पनि काम चलाउन सकिने वस्तुको आयातलाई रोक्कै लगाउनुभन्दा पनि करका दरमा वृद्धि गरेर निरुत्साहित गर्ने तयारीमा सरकार जुटेको हो ।

डा. युवराज खतिवडा राष्ट्र बैंकका गर्भनर भएका बेला ६ महिनाको अवधिमै ४१ अर्बको सुन आयात भएपछि सुनको भन्सार महशुलमा वृद्धि गरी आयात गर्ने निश्चित कोटा तोकिएको थियो । अहिले दैनिक आयात गर्न पाउने परिमाण बढे पनि राष्ट्र बैंकले दिएको सीमाभन्दा बढी सुन आयात गर्न नपाउने व्यवस्था अद्यावधि नै छ ।

अहिले पनि व्यापारघाटा चुलिँदै गएको छ । विप्रेषण घट्दा विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आएको छ । यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखेर अर्थ मन्त्रालयले विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्न आयातमै रोक लगाउनेदेखि करका दर बढाउनेसमेत कार्य हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया