ऐ सरकार, दुखेको मनले कसरी मोदीको अभिनन्दन गर्ने ?


आर्थिकन्यूज

काठमाडौं, वैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि शुक्रबार तेस्रोपटक नेपालको भ्रमण गर्दैछन् । सरकारले उनको स्वागतको लागि टँुडिखेलमा नागरिक अभिनन्दन गर्दैछ । उनै मोदी हुन् जसले नेपालीको घरमा चुलोसम्म जल्न दिएनन् । आम नेपालीले कहिल्यै नभोगेका दुःख र पीडा पाए । भर्खरै विनाशकारी भूकम्पको मारमा परेर अस्तव्यस्त बनेका नेपालीलाई ढाडस दिएर विपदबाट उन्मुक्ति दिलाउनुको साटो अझ पीडाको दलदलमा फसायो ।

सीमा नाका बन्दका कारण नेपालका उद्योगधन्दा सबै बन्द भए । तङ्रिनै नसक्ने गरी उद्योगधन्दा थला परे । कच्चा पदार्थ र पेट्रोलियम पदार्थको अभावमा व्यापार व्यवसाय चौपट भयो । इन्धनको जो हगर्न रातरातभर खुला आकाशमा नेपालीले जीवन बिताए, बजार मूल्य आकाशियो ।

यसका कारण नेपालमा गरिबी थपियो । २१ दशमलव ६ प्रतिशतमा रहेको गरिबी बढेर साढे २८ प्रतिशतमा पुग्यो । जबकी तेस्रो योजनाको अन्त्यसम्म नेपालीको गरिबी १८ प्रतिशतमा झार्ने लक्ष्य लिएर सरकार अगाडि बढिरहेको थियो । गरिबी बढेका कारण १४औ त्रिवर्षीयले निर्धारण गरेका लक्ष्यसमेत प्राप्त नहुने भएको छ । चालू योजनामा नेपालको गरिब १७ प्रतिशतमा झार्ने उल्लेख गरिएको छ ।

सन् २०१८ सम्म नेपाललाई स्तरोन्नती गर्ने रणनीतिका साथ सरकार अघि बढे पनि नाकाबन्दीले नेपालीको विकास र उन्नतिमा ब्रेक लाग्योे । अब नेपालीले अतिकम् विकसित मुलुकबाट स्तरोन्नती गर्न अझै ३ वर्ष पर्खिनुपर्ने भएको छ । शून्य गरिबीमा र दिगो विकास लक्ष्य प्राप्त गर्न अझै कति समय पर्खिनुपर्ने त्यो भविष्यले निर्धारण गर्नेछ ।

भूकम्पले मर्महात भएका नेपालीलाई छिमेकीको भूमिका निर्वाह गर्नैका लागि भए पनि मलम लगाउनुपर्नेमा उनै मोदीले ६ महिना लामो नाकाबन्दी गराए । कस्तो विडम्बना उनै मोदीको नागरिक अभिनन्दन हुँदैछ । बाचा र प्रतिबद्धताभन्दा पनि नियत र संस्कारलाई नेपालीले भुलेका छैनन् र कहिले भुल्दैनन् पनि । यसअघि २०७१ साउन १८ गते नेपाल आएका मोदीले संसद् सम्बोधनका क्रममा १ खर्ब ऋण दिने र भूकम्पपछि पुनर्निर्माणमा अर्को एक खर्ब दिने प्रतिबद्धता गरेका थिए ।’

परराष्ट्रमन्त्री ज्ञवालीले मोदीलाई टुँडिखेलमा सम्मान गरिने बताए । भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री ओलीसँग विविध विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

जनकपुरबाट शुरु हुने दुईदिने भ्रमणमा प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन गर्नुका साथै अरुण तेस्रो जलविद्युत् आयोजनको शिलान्यास गर्ने कार्य तालिका तय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । तर, यसपटक पनि मोदीलाई लुम्बिनीको भ्रमण गराउन सरकार असफल भएको छ । बुद्ध भारतमा जन्मिएका हुन् भनेर विश्वमा गलत प्रचार गर्ने मोदी र उनका समर्थकहरूको भ्रमलाई चिर्न उनैलाई लुम्बिनी भ्रमण गराएर बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर स्वीकार गराउनु पथ्र्यो ।

अर्कोतर्फ भारतीय आडभरोसामा केन्द्रसँग निहुँ खोज्दै आएको प्रदेश नम्बर २ काठमाडौंभन्दा अगाडि नै पुगेर राजनीतिकमा अर्थपूर्ण सन्देश जाने काम हुँदैछ । यसपटक मोदीको नेपाल भ्रमण खाटा बसेको घाउँमा कोट्याउने काम भएको छ ।

यसका साथै मोदी भ्रमणका बेला रेल सञ्जाल विस्तार र जलमार्ग निर्माणका विषयमा पनि छलफल हुने भएको छ । रक्सौल–काठमाडौं रेल सञ्जाल विस्तारको विषयमा छलफल हुने भएको छ । भारत सरकारसँग यसअघि रक्सौलबाट काठमाडौं जोड्ने करिब एक सय ३० किलोमिटर रेलमार्ग निर्माण गर्न यसअघि नै सम्झौता भइसकेको छ ।

कञ्चनपुर, सिमराको सीमावर्ती क्षेत्रमा नेपालीमाथि भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले आतंक सिर्जना गरेकाको यसको दीर्घकालीन समाधानमा लाग्न प्रतिनिधिसभाका संसद्हरूले प्रधानमन्त्री ओलीलाई सल्लाह दिएका छन् । एमाले सांसद नरबहादुर धामीले सीमा क्षेत्रमा पटक–पटक यस्ता आतंक मच्चिएको यो समस्या समाधानका लागि सरकारले दृढ हुनुपर्ने बताए । कांग्रेसका देवेन्द्रराज कँडेलले भारतीय प्रधानमन्त्रीसँग गण्डक बाँधबाट भइरहेको डुबान समस्याबारे छलफल गर्न सरकारसँग माग राखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसँगै जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । बुधबार साँझदेखि जनकपुर नगर क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लोे छ । जानकी मन्दिर र मोदीको स्वागतका लागि तयार पारिएको रंगभूमि मैदानमा करिब अढाई सय भारतीय फौज तैनाथ भएका छन् ।

जानकी मन्दिर र रंगभूमि बाह्र बिघा मैदानलाई भारतीय फौजले नियन्त्रणमा लिएका कारण स्थानीयबासीलाई प्रवेशमा निषेध गरिएको छ । मोदी आउने भएपछि करिब ७० जनाको कमाण्डोको टोली भारतीय सेनाको जहाजबाट दुई दिन अघि जनकपुर आइसकेका छन् । यसअघि नै दुई सयभन्दा धेरै भारतीय प्रहरीको टोली सादा पोशाकमा जनकपुर आइसकेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया