‘बैंकहरूले भूकम्पपीडितलाई कर्जा दिन सकेनन्’


आर्थिकन्यूज

काठमाडौं, वैशाख २५ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले वाणिज्य बैंकहरुले काम गर्न नसकेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेटका लागि सुझाव लिन नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष बडालले भूकम्पपीडितलाई दिने भनिएको सहुलियत कर्जा वाणिज्य बैंकहरुले दिन नसकेको आरोप लगाएका हुन् ।

अध्यक्ष बडालले २ प्रतिशत ब्याजदरमा दिने भनिएको भूकम्पपीडितका लागि कर्जा वाणिज्य बैंकहरुकै कारण भूकम्पपीडितले पाउन नसकेको बताए । उनले वाणिज्य बैंकहरुले यो काम गर्न नसकेको भन्दै २ प्रतिशतमा भूकम्पपीडितलाई दिने भनिएको कर्जाको जिम्मा सहकारीलाई दिन आग्रहसमेत गरे ।

आगामी बजेटका लागि राष्ट्र बैंकलाई सुझाव दिने क्रममा अध्यक्ष बडालले बैंकहरु अझै गाउँ पुग्न नसकेको र वित्तीय सेवा गाउँ–गाउँमा सहकारीले नै दिएको बताए । ‘हिजो सशस्त्र युद्धका बखत सेनाको ब्यारेकमा सञ्चालन हुने बैंक अझै गाउँ पुग्न सकेका छैनन्’ कार्यक्रममा बोल्दै अध्यक्ष बडालले भने– ‘अहिले गाउँ–गाउँमा सेवा प्रदान गर्ने भनेको नै सहकारी हुन्, यसलाई कमजोर नठानियोस् ।’

सुझाव संकलनका लागि राष्ट्र बैंकले राखेको प्रस्तुतिकरणमा सहकारी क्षेत्रलाई नसमेटिएको भन्दै अध्यक्ष बडालले आपत्ति जनाए । नेपालको संविधानले नै सहकारी क्षेत्रलाई विशेष महत्व दिएको भन्दै उनले सहकारीलाई आगामी बजेटमा विशेष महत्वका साथ समेट्नुपर्ने बताए ।

मुलुकका धेरै जिल्लामा बीमा पहुँच अझै पुग्न नसकेको समेत बताए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले सबै जिल्लामा बीमाको पहुँच पुगेको भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष बडालले भने– ‘बीमा सबै जिल्लामा पुगेको छैन, अध्यक्षज्यूलाई म आग्रह गर्न चाहान्छु रिपोर्ट भेरिफिकेसन गर्नुस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया