मातातीर्थमा भक्तजनहरुको भीड


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने गरिन्छ । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि, पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास रहेको छ ।
उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।
स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस आसपासका क्षेत्रबाट भक्तजनको ओइरो लाग्ने क्रम बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसकै रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया