यातायात क्षेत्रमा निर्देशिका, अब चालक र सहचालकलाई अनिवार्य नियुक्तिपत्र


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधनसहित कार्यान्वयनमा आएको छ । संशोधित कार्यविधि चैत २५ गतेदेखि लागू भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भण्डारीले जानकारी दिए । सरकारले यातायात क्षेत्रको सुधारका लागि कार्यविधि, निर्देशिका र मापदण्डसहित व्यवस्था एकैपटक लागू गरेको हो ।

Eco Roofing

कार्यविधि निर्देशिकामा विभिन्न नयाँ व्यवस्था गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन, सवारी प्रदूषण निर्देशिका, मालवाहक सावरी भारवहन निर्देशिका, मझौला तथा साना सवारी परीक्षण मापदण्ड, रुट निर्धारण निर्देशिका र स्कुल बस सञ्चालन निर्देशिका जारी गरेको महानिर्देशक भण्डारीले जानकारी दिए ।

विभागले कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा काम गर्ने मजदूरलाई नियुक्तिपत्र अनिवार्य गरेको छ । यो नियम लागू भएसँगै अब सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक र सहचालकलाई कम्पनीले सुविधाको विवरणसहितको नियुक्तिपत्र दिनुपर्नेछ । यो व्यवस्थाले बालश्रम कम हुने विभागको विश्वास रहेको छ ।

सवारीधनीले जथाभावी बालबालिका प्रयोग गर्ने र सेवा सुविधामा मनोपोली गर्ने पद्धतिको अन्त्य गर्न विभागले यस्तो नियमलाई अनिवार्य गरेको महानिर्देशक भण्डारीले बताए ।

संशोधित कार्यविधिमा बस बडी बिल्डिङ मापदण्ड, कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन र मझौला तथा साना सवारी निरीक्षणसम्बन्धी मापदण्डसमेत उल्लेख गरिएको छ । कार्यविधिमा सवारी पञ्जीकरण, वर्कसप सञ्चालन, प्रदूषण (हरियो स्टिकर), ड्राइभिङ ट्रेनिङ सेन्टरलगायतका लागि निश्चित मापदण्ड तयार पारिएको छ ।

विभागले सवारी प्रदूषण परीक्षण निर्देशिका, २०७४ जारी गरेको छ । यातयात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण जाँचमा एकरुपता ल्याउने भन्दै सवारी प्रदूषण परीक्षण निर्देशिका, २०७४ जारी गरेको हो । नयाँ निर्देशकले देशैभरका सवारीको प्रदूषण जाँचलाई एकरुपता ल्याउने विभागको भनाइ छ । नयाँ र पुराना प्रविधिको गाडीको प्रदूषण जाँच फरक–फरक विधिबाट हुने गरेको थियो । प्रभावकारी जाँच नहुँदा सवारीसाधनकै कारण ३८ प्रतिशत वायुमण्डल प्रदूषित हुने तथ्यांक छ ।

डिजेल गाडीमा खासै परिर्वतन नभए पनि बजारमा नयाँ आएका पेट्रोल गाडीमा भने धेरै परिर्वतन भएकाले नयाँ प्रविधि युरो थ्रिसम्मको गाडीलाई समेत ध्यानमा राखेर निर्देशिका जारी गरेको छ । पेट्रोलमा नयाँ प्रविधि भित्रिएको छ पुरानो कार्यविधिले प्रदूषणको तह जाँच हुदैन थियो । विभागले तोकेको मापदण्डलाई समयनुकूल बनाएर थप कडाइ गर्न नयाँ निर्देशिका जारी गर्ने तयारी थालेको विभागको भनाइ छ । यसअघिको मापदण्ड पेट्रोल गाडीमा कार्बन मनोअक्साइड तीन प्रतिशत र हाइड्रो कार्बन एक हजार पीपीएम हुनुपर्छ भने डिजेल गाडीमा धुवाँको घनत्व ६५ प्रतिशत एचएसयू हुनुपर्ने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया