४ वर्षमा १३५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिँदै


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । अबको ४ वर्षमा १३५६.३५ मेगावाट विद्युत् राष्ट्रिय ग्रिड प्रणालीमा जोडिने भएको छ । आर्थिक वर्ष २०७७÷७८ सम्म निजी र सार्वजनिक क्षेत्रबाट प्रवद्र्धन गरिएका ४४ आयोजनाबाट बिजुली उत्पादन हुने देखिएको हो ।

Eco Roofing

ती आयोजनामध्ये स्वदेशी लगानीको सबैभन्दा ठूलो ४५६ मेगावाटमो राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट अबको नौ महिनाभित्र (आगामी पुससम्ममा) विद्युत् उत्पादन हुने भएको छ । चालू आवमा नै २५ मेगावाट अर्को ठूलो आयोजना काबेली ‘बी’–१ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । यसका साथै तल्लो हेवा, तल्लो मोदीखोलालगायतका अन्य ९ वटा आयोजना पनि यसै आवमा राष्ट्रिय प्रणालीमा जोडिँदै छन् ।

आगामी आव २०७५÷७६ मा माथिल्लो तामाकोशीसहित ४० मेगावाटको खानीखोला १, २३.५ मेगावाटको सोलु, २७ मेगावाटको दोर्दी खोला, २२.२ मेगावाटको अपर चाकु ‘ए’, २२ मेगावाटको बागमती सानासहित कुल ६०२.७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
त्यसरी नै आव २०७६÷७७ मा १५ वटा आयोजनाबाट ३०८.०५ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । उक्त आवमा रसुवागढी १११ मेगावाट, मिष्ट्री खोला ४२ मेगावाट, सान्जेन ४२ मेगावाट, अपर दोर्दी ‘ए’ २५ मेगावाटलगायतका आयोजनाबाट सञ्चालनमा आउने भएको छ ।

आव २०७७÷७८ मा मध्यभोटेकोशी १०२ मेगावाट, अपर त्रिशूली–३ ‘बी’ ३७ मेगावाट, न्यादीखोला ३० मेगावाटलगायतका १० वटा आयोजनाबाट ३३२.६ मेगावाट विद्युत् उत्पादन हुने तथ्यांक नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ ।
चालू आवमा १२ वटा आयोजनाबाट उत्पादित ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ । बाँकी १० आयोजनाबाट ११३ मेगावाट विद्युत् यही आवमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिएका छन् ।

एक दशकमा निर्माण सम्पन्न भएको ३० मेगावाटको चमेलिया पछिल्लोपटक गत फागुनमा ग्रिडमा जोडिएको थियो । साधारणतया प्रतिमेगावाट १५ देखि १८ करोड रुपैयाँ लागतमा उत्पादन हुँदै आएको विद्युत् चमेलियाको लागि भने साढे तीन गुणा लागेको छ । विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलियाको प्रतिमेगावाट विद्युत् उत्पादनको लागत ५५ करोड रुपैयाँ पुगेको छ ।

हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा नेपाल विद्युत् प्राधिकरणका विभिन्न १८ वटा आयोजनाको क्षमता ५००.३६२ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित ५४ वटा आयोजनाको कुल क्षमता ४७१.४६५ मेगावाट गरी ९७१.८२७ मेगावाट पुगेको छ । हालसम्म ७२ वटा आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् ।  विभागका अनुसार प्राधिकरणले हाल निर्माण गरिरहेका चार आयोजना (१५६ मेगावाट) र निजी क्षेत्रका एक सय ३६ आयोजना (३८९८.६२९मेगावाट) को उल्लेख्य प्रगति देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया