गुणस्तर चिन्ह लिन ४० ग्यास उद्योगले दिए आवेदन, १७ उद्योगले चासो देखाएनन्


आर्थिकन्यूज
नेपाल-ग्यास

काठमाडौं, चैत २१ । नेपालमा सञ्चालनमा रहेका ४९ वटा ग्यास उद्योगले हालसम्म नेपाल गुणस्तर प्रमाणपत्र चिन्ह लिएका छैनन् । सो उद्योगमध्ये ४० वटा उद्योगले गुणस्तर चिन्ह लिनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा आवेदन दिएका छन् । नौ वटा उद्योगले भने अझै नेपाल गुणस्तर चिन्ह लिन चासो देखाएका छैनन् । हाल नेपालमा ५७ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन् । आवेदन दिएका उद्योगमा विभागबाट अनुगमन समेत भइसकेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

Eco Roofing

‘अनुगमनको प्रक्रियामा उद्योगमा देखिएका कमी कमजोरीहरू हटाएर उद्योग सञ्चालनका लागि आवश्यक मेसिनरी तथा यन्त्र उपकरण जडान गरी गुणस्तर चिन्ह लिन विभागले निर्देशनसमेत दिइसकेको छ । विभागले केही दिनयता सो कार्य सम्पन्न गरेको हो ।

यसअघि विभागले पटक–पटक ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिन्ह लिएरमात्र सञ्चालन गर्न आग्रह गरे पनि उद्योगीहरूले अटेर गरिरहेका थिए । गत पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिन्ह नलिएका ग्यास उद्योगलाई कारबाही चलाउने नीति अबलम्बन गरेपछि उद्योगहरूले सो चिन्हका लागि आवेदन दिएका हुन् । त्यति बेला दुई महिनाभित्र गुणस्तर चिन्ह लिइसक्न निर्देशन दिइएको थियो । पछिल्लो समय विभागले गुणस्तर चिन्ह नलिने उद्योगलाई कारबाही गर्ने अभियान चलाएपछि अहिले उद्योगीहरूले चासोे देखाएको पुडासैनीले बताए ।

गुणस्तर प्रमाणपत्र नलिई ग्यास उद्योग सञ्चालन गरेको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ ।

‘कारबाही अभियान सञ्चालन गरेपछि ४० ग्यास उद्योगले प्रमाणपत्र चिन्ह लिन आवेदन दिएका छन्,’ उनले भने–‘अन्य उद्योगले गुणस्तर चिन्ह लिनका लागि आवश्यक तयारी गरिहेको छन् ।’ सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उनले बताए ।

नेपालमा रहेका ५७ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ, नेपाल ग्यास उद्योग बालाजु, जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगन्जले नेपाल गुणस्तर चिन्ह लिएका छन् । अन्य उद्योगले भने अझैसम्म नेपाल गुणस्तर चिन्ह लिएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया