घटेको बजारमा हाइड्रोपावर, होटल र अन्य समुहमा रहेका कम्पनीहरु कुन राम्रो कुन नराम्रो


सन्दिल श्रेष्ठ

काठमाडौं, चैत २१ । गत मार्चमा १ हजार ७ सय ४६ को तहमा रहेको नेप्से परिसूचक एक वर्षको अवधिमा करिब ५० प्रतिशतले घटेर १ हजार २ सयको तहमा कारोबार भइरहेको छ ।

Eco Roofing

कारोबार मात्रै गर्ने मिल्ने नेपाली पुँजी बजार निरन्तरको गिरावटले अल्पकालीन कारोबार गर्ने लगानीकर्ता नाफा कमाउन कठिन भएको छ । यद्यपि, दीर्घकालीन लगानी गर्ने लगानीकर्ताको लागि मूल्य सस्तो हुनाले अवसर हुने गर्छ ।

विश्व विख्यात शेयर कारोबारी वारेन बफेटले पनि भनेका छन्–‘स्टक मार्केटबाट लगानीकर्ता आत्तिने तथा बजारबाट भाग्ने अवस्था सिर्जना हुने गर्छ, त्यसबेला किन्ने समय हो भने तथा बजारप्रति ओभर कन्फिडेन्स अर्थात् लोभिएको अवस्थामा बिक्री गर्नु बुद्धिमानी हो ।’ अहिलेको नेप्से परिसूचक ओरालो लागेकाले प्रायः सबै कम्पनीको शेयर मूल्य सस्तिएको छ । ओरालो लागेको बजारमा खरिद गर्न कम्पनी छान्दा कम्पनीको ग्रोथ र कम्पनीको किताबी मूल्यको वरपर आएका कम्पनी खरिद गर्न सक्नु दीर्घकालका लागि राम्रो मुनाफा कमाउने सम्भावना रहन्छ ।

वित्तीय अनुपातमा प्रतिशेयर आम्दानीको ग्रोथले कम्पनीको वित्तीय अवस्था राम्रो भएको जनाउँछ । त्यस्तै कम्पनीको किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थले कम्पनी कति राम्रो भन्ने कुरा जनाउंँछ । एक वर्षको समय अवधिमा जलविद्युत् समूह करिब ६० प्रतिशतले घटेर १४ महिनाको न्यून बिन्दूमा १ हजार ४ सय १८ को तहमा कारोबार भइरहेको छ ।

जलविद्युत्

जलविद्युत् समूहका कम्पनीको आधारभूत पक्षलाई छोडेर दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बुटवल पावर, बरुण हाइड्रो, युनाइटेड हाइड्रो तथा रिडी पावर कम्पनीको प्रतिशेयर आम्दानीमा सकारात्मक रहेको छ भने बाँंकी कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ ।
हाइड्रोपावर कम्पनीहरूमध्ये पुस मसान्तसम्म सबैभन्दा बढी बुटवल पावर कम्पनीले ३ सय २७ प्रतिशतले वृद्धि गरेर ६६ रुपैयाँ १९ (वार्षिकीकरण) पैसा पुर्याएको छ । त्यस्तै सबैभन्दा कम प्रतिशेयर आम्दानी वृद्धि गर्ने कम्पनीको रूपमा दिव्यश्वरी हाइड्रोपावर कम्पनी देखिन्छ । गत वर्षको दोस्रो त्रैमासमा १ रुपैयाँ ७३ पैसा ऋणात्मक भएको दिव्यश्वरी हाइड्रोपावर कम्पनी चालू आवको पुस मसान्तसम्म ७ रुपैयाँ ८ पैसा ऋणात्मक रहेको छ ।
कम्पनीको किताबी मूल्यलाई अहिलेको बजार मूल्यबाट तुलना गर्दा जलविद्युत् कम्पनीहरुमा अरुण काबेली पावर कम्पनीको मूल्यभन्दा नेटवर्थ बढी रहेको देखिन्छ भने प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमास भन्दा १२ घटेर २२ पैसा ऋणात्मक रहेको छ । जबकी गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २५ पैसा ऋणात्मक रहेको थियो ।

अन्य समूह

नेप्से परिसूचकमा सूचीकृत कम्पनीहरुमध्ये अत्याधिक पुँजी भएको नेपाल टेलिकम तथा जलविद्युत् कम्पनी पर्छ । चालू आवको दोस्रो त्रैमासमा नेपाल टेलिकमले नाफा घटेपश्चात ५ दशमलव ५ प्रतिशतले प्रतिशेयर आम्दानी घटेको थियो । त्यही समूहको जलविद्युत लगानी तथा विकास कम्पनीले गत आवको दोस्रो त्रैमासभन्दा करिब ९६ प्रतिशतले बढाएर ८ रुपैयाँ ३३ पैसा पुर्याएको थियो । नेपाल टेलिकमको प्रतिशेयर किताबी मूल्य ६०२ रुपैयाँ रहेको छ भने जलविद्युत् लगानी तथा विकास कम्पनीको नेटवर्थ १ सय ९ रुपैयाँ ७ पैसा रहेको छ । जबकी यी दुई कम्पनीको सोमबार कारोबार बन्द हुँदा क्रमशः ७ सय १ रुपैयाँ र १ सय ३९ रुपैयाँमा बन्द भएको थियो । वित्तीय विवरणको आधारमा मात्र यसरी प्रतिशेयर आम्दानीको ग्रोथ तथा मूल्य किताबी मूल्यलाई मध्य नजर गर्दा जति घट्यो उति यी दुई कम्पनीको शेयर खरिद गर्दा राम्रो हुने देखिन्छ ।

होटल समूह
होटल समूहमा नियमित कारोबार हुने कम्पनीमा तारागाउँ रिजेन्सी होटलको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै ओरियन्टल होटल तथा सोल्टी होटेलको प्रतिशेयर आम्दानी घटेको थियो । कम्पनीमा किताबी मूल्यको आधारमा ओरियन्टल थोरै अगाडि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया