प्रधानमन्त्री ओलीले भारत भ्रमणमा उठाउलान् त देशले भोगेको यी कष्टका कुरा


आर्थिकन्यूज

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । नेपालमा वाम गठबन्धनको इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेपछि ओलीको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

Eco Roofing

भारत भ्रमणको विषयमा उठाउने विभिन्न एजेन्डाका विषयमा छलफल भइरहेको छ । हालसम्म कुन एजेन्डालाई कसरी अगाडि बढाउने र कुन कुन विषयलाई प्रमुख प्राथमिकतामा राख्ने भन्ने विषयमा नेपालको तर्फबाट आन्तरिक तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीले सम्बद्ध पक्षसँग पनि छलफल गरिरहेका छन् । छलफलका आधारमा नै भारतसँग उठाउने विषयलाई अन्तिम रुप दिने तयारी गरिएको छ । नेपाल भारतबीच विगत लामो समयदेखि ठूलो व्यापारघाटा रहँदै आएको छ । व्यापारघाटा घटाउने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने सरकारको तयारी छ । सरकारको उक्त तयारीलाई हेर्दा विषय वस्तु भने गम्भीरताका साथ जे जसरी तयारी गर्नुपर्ने हो त्यो भने हुन सकेको छैन ।

नेपालले लामो समयदेखि भारतसँग एकपक्षीय रुपमा मात्रै पेट्रोलियम पदार्थको आयात गरिरहेको छ । वार्षिक एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।
यस्तै पछिल्लो तीन वर्षदेखि नेपालले निरन्तररूपमा करिब २५ अर्ब बढीको विद्युत् आयात गरिरहेको छ । पेट्रोलियम पदार्थको परनिर्भरता कायम रहेको सन्दर्भमा विद्युत् आयातबाट नेपाल विद्युत् र पेट्रोलियम पदार्थमा समेत परनिर्भर बन्दै आएको छ ।

नेपालले व्यापारघाटा घटाउने हो भने विद्युत् उत्पादन र व्यापारको अवधारणालाई नै अगाडि बढाउनु जरुरी रहेको छ । नेपालमा लगानीका लागि भनेर आएका भारतीय कम्पनी तथा ठेकेदारले हालसम्म प्रभावकारी काम गर्न नसकेको गुनासो पनि उत्तिकै रहेको छ । सो गुनासो सम्बोधन गर्न भारतीय पक्षले प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको छ ।
भारतीय कम्पनीको नियत विगतदेखि कै हेर्ने हो भने आयोजना जिम्मा लिने र काम नगर्ने प्रवृत्ति हावी देखिएको छ । भारतीय कम्पनीले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम हालसम्म प्रभावकारी रुपमा अगाडि बढेको छैन ।

आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको भारतीय कम्पनी जीएमआरका कारण माथिल्लो कर्णाली आयोजना अगाडि बढ्ला कि नबढ्ला भन्ने आशंका पनि उत्तिकै रहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास हुने चरणमा पुगेको बेला माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले गति लिन सकेको छैन । यस्तै लामो समयदेखि ६५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदीसमेत अगाडि बढ्न सकेको छैन ।

भारतीय ठेकेदार नै रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको महत्वपूर्ण काम समेत चित्तबुझ्दो तवरले अगाडि बढेको छैन । भारतीय कम्पनी टेलम्यासले स्टिल लाइनिङको काममा चासो नदेखाउँदा र निर्माण सामग्री आयात गर्न नसक्दा समस्या थपिएको छ । सो आयोजनाको महत्वपूर्ण कामका रुपमा मानिएको ठाडो सुरुङ निर्माणमा भारतीय कम्पनीले ध्यान दिन सकेको छैन ।

कुल ३१० मिटर र ३७० मिटर लामो ठाडो सुरुङ निर्माणमा ढिलाई हुँदा माथिल्लो कर्णाली आयोजनाको निर्माण सकिने अवधि नजिकँदै जाँदा आशंका बढेर गएको छ । यस्तै विगत २३ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर परियोजना पनि अगाडि बढ्न सकेको छैन । सधंै चर्चामा मात्रै रहने सो आयोजनामा भारत सरकारको विशेष ध्यान भने पानीमा नै रहेको छ ।

नेपालले पानीमा सहमति जनाएको खण्डमा मात्रै भारत सो परियोजना अगाडि बढाउन सकिन्छ भन्ने अवस्थामा रहेको छ ।
भारतले शारदा ब्यारेजमा उपलब्ध भएको पानीको मात्रालाई तलमाथि हुन नदिने गरी मात्रै आयोजना अगाडि बढाउन सकिने बताउँदै आएको छ । भारतीय पक्षको सोही अडानका कारण आयोजनाले प्रभावकारी रुपमा गति लिन सकेको छैन ।
यस्तै आयोजनाको बहुपक्षीय लाभका विषयमा समेत स्पष्टसँग कुराकानी अगाडि बढाउन नेपाल र भारत सरकार दुवै तयार देखिएका छैनन् ।

तल्लो तटीय लाभ र माथिल्लो तटीय लाभका बारेमा स्पष्टसँग छलफलको आवश्यकता देखिएको छ । तर, यसपटक पनि पञ्चेश्वरको विषयमा स्पष्टसँग कुराकानी होला भन्ने अपेक्षा गर्न सकिने अवस्था छैन । त्यसकारण प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा यी विषयलाई प्रमुख प्राथमिकतामा राखेर द्विपक्षीय सम्वाद गर्नु जरुरी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया