अब प्रदेशैपिच्छे नयाँ औद्योगिक क्षेत्र


आर्थिकन्यूज

काठमाडौं, चैत १९ । सरकारले प्रदेश सरकारलाई बलियो र आत्मनिर्भर बनाउन प्रदेशस्तरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी थालेको छ । प्रदेश नम्बर ४ को पालुङटारमा र प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम शुरु भएको छ भने अन्य स्थानमा पनि छिट्टै कार्य अघि बढाउने तयारी सरकारले गरेको छ ।

Eco Roofing

प्रदेश नम्बर ४ मा औद्योगिक क्षेत्र स्थापना गोरखाको पालुङटार अध्ययन गर्न परामर्शदाता छनोट भइसकेको छ । झापा, दमकमा पर्ने औद्योगिक क्षेत्रको भने जिल्ला प्रशासन कार्यालय झापाले जग्गा प्राप्तिसम्बन्धी सूचना निष्कासन गरेर औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनीलाई मुआब्जा दाबी गर्न अनुरोध गरेको छ ।

प्रदेश नम्बर ४ को औद्योगिक क्षेत्रका लागि १० हजार रोपनी जग्गामा अध्ययन भइरहेको छ । प्रदेश नम्बर १ मा बन्ने औद्योगिक क्षेत्र २२ सय विद्यामा फैलिएको हुनेछ । उक्त औद्योगिक क्षेत्रमा चिनियाँ प्राविधिक टोलीले आएर अध्ययनसमेत गरिसकेको छ ।

सरकारले संघीय संरचना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढाएको उद्योग मन्त्रालयले बताएकोे छ । प्रदेश सरकारलाई बलियो र आत्मनिर्भर बनाउन प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको उद्योग सचिव यमकुमारी खतिवडाले बताइन् ।

उनका अनुसार प्रदेश नम्बर २ मा सर्लाहीको मुर्तिया, ३ मा मकवानपुरस्थित हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने तयारी भइरहेको छ । त्यस्तै सरकारले प्रदेश नम्बर ५ मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश नम्बर ६ मा सुर्खेतको साताखानी र प्रदेश नम्बर ७ मा कैलालीको लम्की, कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने भएको छ । औद्योगिक क्षेत्रभित्र सरकारले जमिन, भवन, सडक, विद्युत् पानी, ढललगायतका पूर्वाधार विस्तार गरिदिने छ ।

आ–आफ्नो प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गरेर प्रदेशलाई औद्योगिक विकासका माध्यमबाट स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने अभियानमा प्रदेश सरकार जुटेको उद्योग औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए । प्रदेश सरकार तिव्र गतिमा औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यका लागि केन्द्रीय सरकारलाई घच्घच्याइ रहेको छ ।

हाल नेपालमा काठमाडौं उपत्यकामा तीन वटासहित हेटौडा, धरान, राजविराज, पोखरा, बुटवल, वीरेन्द्रनगर, नेपालगन्ज र सुर्खेतमा गरी ११ वटा औद्योगिक क्षेत्र रहेका सञ्चालनमा रहेका छन् । केही महिना अघिमात्र भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएको छ ।

११ औद्योगिक क्षेत्रमा करिब आठ सय वटा उद्योग सञ्चालनमा छन् । ती उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी भएको छ । उपत्यकामा सञ्चालित औद्योगिक क्षेत्रमामा करिब १५ हजार जनाले रोजगारी पाएको औद्योगिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया