सुनचाँदी व्यवसायमा तीन लाखलाई रोजगारी, कालीगढको वार्षिक ३४ अर्ब आम्दानी


आर्थिकन्यूज
सुन

काठमाडौं, चैत २६ । नेपालमा सुनचाँदी व्यवसायले वार्षिक ३४ अर्ब रुपैयाँ गरगहना बनाउन मात्रै खर्चिने गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले केही समय अघि गरेको एक अध्ययनले सुनचाँदीका गरगहना बनाउने कालीगढ तथा यससँग सम्बन्धित अन्य जनशक्तिको यस व्यवसायमा खपत हुने गरेको हो । हाल स्वदेशी र विदेशी गरी दुई लाख कालीगढ रहेको महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । एक लाख अन्य जनशक्ति यस व्यवसायमा प्रयोग भइरहेको उनले बताए ।

‘गरगहना बनाउने कालीगढको ज्याला र जर्तीमा वार्षिक ३४ अर्ब रुपैयाँ खर्च हुने गरेको छ, ’ शाक्यले भने–‘सो रकममध्ये आधा विदेशिने गरेको छ ।’ देशभरि रहेका करिब २२ हजार व्यवसायमा ठूलो जनशक्ति खपत भएको हो । अघिल्लो समय नेपालमा कालीगढ नभएकाले विशेषगरी भारतीय बजारबाट कालीगढ ल्याउने गरिएको छ । बहुमूल्य धातु बजारमा दक्ष कालीगढको अभाव भएपछि चार वर्षअघि महांसघले सुन तथा चाँदीका गरगहना बनाउन वर्षभरिनै तालिमको आयोजना गरेको थियो । त्यसयता केही सुधार आएको छ । तर, अझै पनि काठमाडौं उपत्यकामा काम गर्ने कालीगढमध्ये करिब ७० प्रतिशत अर्थात ७० हजार कालीगढ भारतीय छन् ।

सुनचाँदी व्यवसायबाट राज्यले वार्षिक ८ अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । तर, सरकारले सुनचाँदी व्यवसाय सञ्चालन गर्ने निर्देशिका ल्याउन नसक्दा व्यवसाय गर्न अप्ठ्यारो परेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘विगत ५ वर्षदेखि सुनचाँदी निर्देशिका थन्किएको छ,’ शाक्यले भने –‘व्यवसाय प्रवद्र्धन गर्न कानुनी आधार नभएकाले सानोतिनो समस्याबाट पनि व्यवसायीले दुःख पाइरहेका छन् । सुनचाँदी कारोबारका हिसाबले ठूलो व्यवसाय भए पनि यसबाट कम नाफा हुने उल्लेख गर्दै व्यवसायीको मर्म बुझेर ऐन नीति नियम बनाउन सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्र बैंकले सुन आयात गर्ने अधिकार ‘क’ वर्गको वाणिज्य बैंकलाई मात्र दिएका कारण सो सुन प्राप्त गर्न समेत अप्ठ्यारो परेको व्यवसायीको गुनासो छ ।

आन्तरिक बजारमा औसतमा दैनिक करिब ४५ किलो सुनको माग रहेको छ । व्यवसायीले भने दैनिक २० किलोमा खुम्चिएर बस्नुपर्ने बाध्यता रहेको छ । विगत ६ वर्षमा देशको अर्थतन्त्रमा झण्डै २.५ गुणाको बढोत्तरी भए पनि सुनचाँदीको कोटा भने बल्ल ५ वर्षपछि १५ किलोबाट २० किलो पुगेको छ, जुन बजारको मागभन्दा निक्कै कम हो ।

व्यवसायीहरूले सुनका गरगहना गुणस्तरका विषयमा उठ्दै आएका प्रश्नलाई चिर्न तथा आमउपभोक्ताको विश्वास जित्न गरगहनाको गुणस्तर नाप्ने टन्च मेसिन जडान कार्यलाई अघि बढाएका छन् । एक करोडभन्दा बढी मूल्य पर्ने महँगो मेसिन भएकाले सबै व्यवसायीले राख्न नसक्ने महासंघको भनाइ छ । यस्ता मेसिन जडान गर्नका लागि सरकारले पनि सहयोग गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

कालीगढ पनि रजिस्टर हुनुपर्ने कोड नम्बरका आधारमा गरगहना

पछिल्लो समय व्यवसायलाई बढी जिम्मेवार बनाउन सुनचाँदी व्यवसायीले सुनचाँदीका गरगहना बनाउने कालीगढ पनि रजिस्टर हुनुपर्ने व्यवस्था अघि सार्न लाएका छन् ।

विश्वासको भरमा चलेको यो व्यवसायलाई अझ बढी विश्वासिलो बनाउन उनीहरूले कालीगढको आधिकारिकताको लागि रजिस्टर कालीगढ माग गरेका हुन् । रजिस्टर कालीगढले बनाएको गरगहनामा उसैको कोड नम्बर राखिने छ,’ उनले भने–‘जसले गर्दा उसले बनाएको गरगहनाको गुणस्तरको जिम्मेवार कालीगढ आफंै हुनेछ ।’ अहिले कालीगढले कुनै बद्मासी गरेमा यसको क्षतिपूर्तिको असुली व्यवसायीले गर्दै आएका छन् । यो प्रावधान लागू भएमा कालीगढ आफ्नो व्यवसायप्रति बढी उत्तरदायी हुने शाक्यले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया