सात लघुवित्त कम्पनीको ५४ करोडभन्दा बढीको शेयर आउँदै


आर्थिकन्यूज
शेयर

काठमाडौं, चैत १० । शेयर बजारमा सात लघुवित्त कम्पनीको ५४ करोड १९ लाख ४४ हजार ३१५ रुपैयाँको शेयर आउने भएको छ । दुई लघुवित्त कम्पनीको प्राथमिक शेयर आईपीओ र पाँच कम्पनीको हकप्रद शेयर आउने भएको हो ।

आईपीओ निष्काशन गर्ने कम्पनीमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । त्यस्तै हकप्रद शेयर निष्कासन गर्नेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, नागवेली लघुवित्त वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र स्वदेशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेपाल सेवा लघुवित्त (Nepal Seva Laghubitta Bittiya Sanstha Ltd) ले साधारण शेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको हो ।

संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरि ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तले सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्न लागेको हो । साधारण शेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

साधारण शेयर जारी गर्नका लागि नेपाल सेवा लघुवित्तले एनएमबी क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । २०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP Laghubitta Bittiya Sanstha Ltd) सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । लघुवित्तले शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता शेयर निष्कासनको अनुमतिका लागि माघ १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरिसकेको छ ।
धादिङको गजुरीमा प्रधान कार्यालय राखेर वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था  (Womi Microfinance Bittiya Sanstha Ltd)  ले हकप्रद शेयर निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आरएसडीसी लघुवित्त (च्क्म्ऋ) ले हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । लघुवित्तले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्रीको लागि अनुमति मागेको हो ।

यस कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । यसअघि कम्पनीले असोज २ गतेदेखि कात्तिक २० गतेसम्म २३ लाख २५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीले चुक्तापुँजी बृद्धि गर्नको लागि हकप्रद सेयरको निवेदन दिएको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३४ करोड ३ लाख ७९ हजार छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी ५७ करोड ५९ लाख २० हजार पुग्नेछ ।

नागबेली लघुवित्त वित्तीय संस्था (Nagbeli Laghubitta Bittiya Sanstha Ltd.) ले एक बराबर एक कित्ता अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । लघुवित्तले माघ २३ गते मंगलबार हकप्रद जारी गर्न निवेदन पेश गरेको बोर्डले जनाएको छ ।
नागबेलीले गत बर्ष वितरण गरेको ४५.६० प्रतिशत बोनस कायम हुने चुक्ता पूँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको नै हकप्रद जारी गर्न लागेको हो ।

७ लाख ६६ हजार ४६३ दशमलव १५ कित्ता हकप्रद जारी पश्चात कम्पनीको चुक्ता १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पूँजी पुग्नेछ ।

कम्पनीले हकप्रद निष्कासनका लागि एनएमबि क्यापिटललाई हकप्रद निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (Mirmire Microfinance Development Bank Ltd.) ले हकप्रद शेयर जारी गर्न लागेको छ । १ बराबर १ को अनुपातमा हकप्रद निष्कासनका लागि कम्पनीले फागुन ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४ करोड ५० लाख रुपैयाँको ४ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

४ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको मिर्मिरेको शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात चुक्तापूँजी ९ करोड पुग्नेछ ।

शेयर निष्कासनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने (आईपीओ ग्रेड ४) प्रदान गरेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था (Swadeshi Laghubitta Bittiya Sanstha Ltd.) ले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेको कम्पनीको शत प्रतिशत हकप्रदपछि चुक्ता पूँजी २३ करोड पुग्ने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया