डेढ दर्जन व्यावसायिक संगठन एकजुट


आर्थिकन्यूज

काठमाडौं, फागुन १ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रूप दिन सरकारसँग माग गरेको छ । महासंघले पत्रकार सम्मेलन गरेर फागुन ५ गते एकताको महाधिवेशन सम्पन्न गर्ने जानकारी दिँदै यस्तो माग गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीहरुको हकहित र मुलुकको व्यापारघाटालाई कम गर्ने उद्देश्यले १८ वटा संगठनको छाता संठगनका रुपमा एकजुट भएको जानकारी दिएका छन् ।

उनले भने–‘राजनीति दलले मुलुकलाई समृद्ध बनाउने भन्छन् तर व्यापारी तथा व्यवसायीसँग कुनै प्रकारको सल्लाह÷सुझाव लिने दिने काम भएको छैन्, यस्तो स्थितिमा कसरी हाम्रो देश समृद्ध बन्छ ?’

संघीय संरचना अनुसार महासंघले आफ्ना क्रियाकलाप अघि बढाउने बताएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले नेपाल राष्ट्रिय व्यवसायी महासंघ १८ वटा संघ संस्थाहरुको छाता संगठन भएको जनाए । नेपाल व्यापार संघ, राष्ट्रिय व्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता व्यापार संघ, चाहना व्यापार संघ, खिचापोखरी, नयाँ बानेश्वर, फेन्सी व्यवसायी, रञ्जना व्यापार संघ सिभिल मल व्यापार संघ रहेका छन् ।

त्यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाली टेली मार्केट, पिपुल्स प्लाजा व्यापार संघ, ललितपुर तयारी पोशाक व्यापार संघ, भक्तपुर रेडिमेट व्यापार संघ, बौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ र नेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ रहेका छन् । महासंघको प्रथम महाधिवेशनमा पाँच सय जना प्रतिनिधि रहनेछन् भने २ सय जना परिवेक्षक रहने आयोजकले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया