असारभित्रै बाग्मतीबाट बिजुली निकालिँदैै


आर्थिकन्यूज

काठमाडौं, फागुन १ । बाग्मतीमा कति पानी हुन्छ ? काठमाडौंमा बस्ने सबैले देखेकै छन् । हिन्दू धर्मले बाग्मतीलाई पवित्र नदीको संज्ञा दिएको छ । बाग्मतीलाई नदी होइन ढलको रुपमा देखिएको पनि लामै समय भयो । पानीभन्दा फोहोर बढी बग्छ भन्छन् जान्ने बुझ्नेहरु बाग्मतीमा ।

तर, बाग्मतीमा नै २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ भन्ने एक्कासी सुन्दा तपाईंलाई कस्तो लाग्ला ? पक्कै पनि यो अस्वभाविक जस्तो लाग्छ, यो हुनै सक्दैन । अस्वभाविक लागेको छ वा हुनै सक्दैन भन्ने लागे पनि अहिले यस्तै हुन लागेको छ ।

माण्डु हाइड्रो पावरले आगामी असार मसान्तदेखि २२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । ललितपुर र मकवानपुरको सीमामा बाग्मती नदीमा निर्माण गरिएको आयोजनाको करिब ८० प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार २०७२ जेठबाट निर्माण थालिएको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृहको काम एकसाथ काम भइरहेका छ ।

आयोजनाका इन्जिनियर रत्न बम्जनका अनुसार आयोजनाको २ हजार ४४० मिटर लामो सुरुङ गत शुक्रबार नै ब्रेक थ्रू भएको छ । आयोजनामा बैंकर पृथ्वीबहादुर पाण्डेलगायतको लगानी रहेको छ ।

सुरुङ निर्माणमा पहिलोपल्ट नेपाली कम्पनीले नै काम सम्पन्न गरेको हो । साउथ एसियन इन्फ्रास्ट्रक्चरले सो सुरुङ निर्माण गरेको हो । बढीमा आगामी चार महिनाभित्र सुरुङ, बाँध र विद्युत् गृहको काम पूरा हुनेछ ।

आयोजनाबाट विद्युत् कुलेखानी पहिलोको सवस्टेशनमा लगेर जोड्ने तयारी गरिएको छ । आयोजनाको कुल लागत ४ अर्ब रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया